बडादसैँ तथा नवरात्रको नवौँ दिन आज देवी महागौरीको विशेष पूजाआराधना हुँदैछ। आश्विन शुक्ल अष्टमीका दिन मनाइने यो पर्व यस वर्ष तिथि वृद्धि भएकाले नवौँ दिनका अवसरमा महागौरीको पूजा गरिएको हो।
महागौरीलाई सेतो वृषभमा आरूढ, गोरो वर्णकी, श्वेतवस्त्रधारी स्वरूपमा वर्णन गरिएको छ। किंवदन्तीअनुसार प्रारम्भमा केही कालो वर्ण भएकी देवीलाई भगवान् शिवले ‘ए काली’ भनेर सम्बोधन गरेपछि उनलाई मन परेन। त्यसपछि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकी कारण उनको नाम ‘महागौरी’ रहन गएको बताइन्छ।
नवरात्रको पहिलो दिन घटस्थापनासँगै देवी शैलपुत्रीको पूजा गरी सुरु भएको दुर्गा आराधनामा ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि हुँदै आज महागौरीको पूजा सम्पन्न हुँदैछ। भोलि नवमीका दिन सिद्धिदात्री देवीको आराधना गरिनेछ।
नवरात्रका नौ दिनभरि घटस्थापनास्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ। धार्मिक विश्वासअनुसार देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास गरिन्छ।
देशभरका शक्तिपीठ र देवी मन्दिरहरूमा यस अवसरमा भक्तजनहरूको ठूलो भीड लाग्ने गर्छ। विशेषगरी फूलपातीदेखि सुरु हुने बडादसैँको रौनक अष्टमी, नवमी हुँदै विजयादशमीसम्म उच्च उत्साहका साथ मनाइन्छ।