कैलालीको गोदावरी नगरपालिका कार्यालयमा भदौ २४ गते (मंगलबार) जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण कार्यालय भवन पूर्णरूपमा क्षतिग्रस्त बनेको छ। कार्यालयका सबै भौतिक संरचना र अभिलेख जलेर नष्ट भएका कारण नगरवासीलाई अत्यावश्यक सेवा प्रवाहमा गम्भीर कठिनाइ हुने अवस्था देखिएपछि शुक्रबार एक अपील जारी गरिएको छ।
जारी सूचनामा आगजनीजस्तो दुर्भाग्यपूर्ण घटनाले नगरपालिका मात्र नभई समग्र समाजलाई ठूलो क्षति पु¥याएको उल्लेख गर्दै सेवाप्रवाहमा अवरोध आए पनि नगरवासीलाई तत्कालीन राहत दिन पहल भइरहेको जानकारी दिइएको छ।
कार्यालयले क्षति मूल्यांकन र सेवा निरन्तरताका लागि विशेष समिति गठन गरेको छ। समितिले जलेर नष्ट भएका कागजात तथा अभिलेख पुनःसंकलन गर्न स्थानीयको सहयोग आवश्यक पर्ने भन्दै सम्पर्क नम्बरसमेत सार्वजनिक गरिएको छ। नगरवासीसँग कार्यालयसँग सम्बन्धित प्रमाण, कागजात वा जानकारी भए तोकिएका नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ।
सूचनामा भनिएको छ–“गोदावरी नगरपालिकाको अभिलेख तथा संरचनामा आगजनीबाट ठूलो क्षति भएको छ। नगरवासीको सेवाप्रवाह प्रभावित भएको अवस्थामा हामी सबैको सहकार्य र संयम अपरिहार्य छ। यस कठिन घडीलाई सामूहिक रूपमा सामना गर्दै नगर पुनःनिर्माण र सेवामा निरन्तरता दिन सबैको साथ अपेक्षित छ।”
नगरपालिकाले सम्पर्क व्यक्ति, समितिको नाम र मोबाइल नम्बरसमेत प्रकाशन गरेको छ, जसमार्फत प्रभावित सेवाग्राहीले प्रत्यक्ष जानकारी दिन सक्ने व्यवस्था मिलाइएको छ।
यसअघि मंगलबार भएको आन्दोलनमा प्रदर्शनकारीहरूले गोदावरी नगरपालिकाको कार्यालयमा तोडफोड गर्दै आगजनी गरेका थिए। जसमा नगरपालिकाका विभिन्न शाखाका महत्त्वपूर्ण फाइल र अभिलेख जलेर नष्ट भएका थिए।
