कैलालीको गोदावरी नगरपालिकाका पुर्व मेयर हरि सिंह साउँदको घरमा जेन–जी आन्दोलनको नाममा तोडफोड गरिएको छ। वडा नम्बर -२ मा रहेको उनको घरमा एक समुहले मंगलबार तोडफोड गरेका हुन् ।
यस घटनापछि उनका छोरा दीपेन्द्र साउँदले सामाजिक सञ्जालमार्फत भावुक प्रतिक्रिया दिएका छन्।
दीपेन्द्रले लेखेका छन्, “मेरा बुबा श्री हरि सिंह साउँद पुर्व मेयर हुनुहुन्छ। उहाँका दुई छोरा र दुई छोरी सबै आ–आफ्नो जीवनमा स्थापित भइसकेका छन्। बुबाले हामी दुई छोराको कमाइमा भरपर्दै घर निर्माण गर्नुभएको थियो। मेयर पदमा रहँदा उहाँले कहिल्यै कसैसँग विवाद गर्नुभएको छैन, सधैं इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्नुभयो। पद सकिएपछि अहिले उहाँ नातिनातिनासँग रमाउँदै शान्त जीवन बिताइरहनुभएको छ।”
आफ्नो परिवारबारे उल्लेख गर्दै उनले भनेका छन्, “म बैंकमा छु, मेरी श्रीमती शिक्षिका हुनुहुन्छ। मेरा दाइ र भाउजू व्यवसायमा हुनुहुन्छ। हाम्रो परिवार शिक्षित र आत्मनिर्भर हो। हजुरबुबाले अत्तरिया क्षेत्रमा आर्जन गर्नुभएको ३–४ बिघा जग्गा हाम्रो मेहनत र लगनशीलताको कथा हो।”
तर घरमा भएको तोडफोडप्रति उनले गहिरो पीडा व्यक्त गरेका छन्। “यस्तो मेहनतले बनाएको घर किन जेन–जीको नाममा तोडफोड ? म पनि जेन–जी अभियानप्रति सहानुभूति राख्छु र समर्थन गर्दछु। तर, यो घटना देख्दा लाग्छ कसैले व्यक्तिगत रिसीबीका कारण निर्दोष समर्थकलाई उक्साएर हाम्रो घरमाथि अन्याय गरिएको हो।
यो केवल भौतिक क्षति मात्र होइन, हाम्रो परिवारको सपना, श्रम र सम्झनामा कुठाराघात गरिएको जस्तो लाग्छ,” उनको भनाइ छ।