शिखर–काफली समाजको आयोजनामा गौरा पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार कृष्णपुर नगरपालिका–९ मा आयोजित उक्त कार्यक्रममा समाजका अध्यक्ष छत्र महराको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रदेश सांसद डम्मरी महरा ‘रक्षा’ प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा सहभागीहरुले एक–अर्कामा गौराको शुभकामना आदान–प्रदान गरेका थिए ।
सो अवसरमा समाजले शिखर नगरपालिका घर भई विभिन्न पेशामा आबद्ध व्यक्तिहरुलाई सम्मान गरेको थियो ।
सम्मानित हुनेमा पत्रकार गोबिन्द रोस्यारा, टेकराज जोशी, शेरबहादुर ऐर, पदम सुनार र ट्राफिक प्रहरी डिएसपी टेक बहादुर जोरा रहेका छन् । प्रमुख अतिथि सांसद महराले उनीहरुलाई प्रमाणपत्र प्रदान गरेकी थिइन् ।
समाजका सल्लाहकार संयोजक विष्णु महराले २०७८ सालमा डोटीका तत्कालीन पचनाली, मुडभरा, तिजाली र मणेगाउँ गाविसबाट बसाइँसराइ गरी तराईमा बसोबास गर्नेहरुलाई एकीकृत गर्ने उद्देश्यले समाज स्थापना गरिएको बताए ।
कार्यक्रममा विभिन्न संघ–संस्थामा सक्रिय समाजका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन समाजका सचिव राजेन्द्र रैकाले गरेका थिए ।