धनगढीका होटल व्यवसायीहरूले होटल तथा रेस्टुरेन्ट सञ्चालन समय राति ११ देखि १२ बजेसम्म विस्तार गर्न माग गरेका छन्। उनीहरूले सुदूरपश्चिमको राजधानीमा पनि अन्य प्रमुख शहरजस्तै रात्रीकालीन सेवा आवश्यक रहेको बताएका छन्।
व्यवसायीहरूका अनुसार काठमाडौँ, पोखरा, चितवन, बुटवललगायतका शहरमा होटल, रेस्टुरेन्ट तथा बारहरू राति अबेरसम्म सञ्चालन हुने गरेका छन्, जसले पर्यटकलाई सहज सेवा दिने मात्र होइन, स्थानीय अर्थतन्त्रलाई पनि चलायमान बनाएको छ। तर, धनगढीमा छोटो समय सीमा तोकिएकाले पर्यटक र आम नागरिकलाई असुविधा भएको उनीहरूको गुनासो छ।
“धनगढी सुदूरपश्चिमको मुख्य प्रवेशद्वार हो। यहाँबाट भारतीय पर्यटकसहित आन्तरिक यात्रुहरू आउने गर्छन्। तर, तोकिएको समय सीमा कम भएकाले धेरै पर्यटकले सेवा पाउन सकिरहेका छैनन्,” व्यवसायीहरूको भनाइ छ।
नाटा सुदूरपश्चिमका अध्यक्ष पदम विक्रम सिंहले सामाजिक सञ्जालमार्फत प्रशासनलाई समय सीमा बढाउन आग्रह गरेका छन्। उनका अनुसार, राति १२ बजेसम्म सञ्चालन गर्न पाउँदा पर्यटकलाई सहज हुने, स्थानीय युवालाई रोजगारी सिर्जना हुने र व्यवसायमै उत्साह थपिनेछ।
व्यवसायीहरूले धनगढीलाई पर्यटकीय तथा व्यापारिक केन्द्रका रूपमा विकास गर्न रात्रीकालीन सेवा सञ्चालनमा लचिलो नीति अपनाउन प्रशासनसँग माग गरेका छन्।