भारतको कर्नाटक राज्य, बेङ्गलुरु शहरमा बसोबास गर्ने एस. रमेश बाबुको घरबाट भएको गरगहना तथा नगद चोरी प्रकरणमा संलग्न तीन जना नेपाली नागरिकलाई पक्राउ गरी चोरी भएका सामग्री धनी पक्षलाई फिर्ता गरिएको छ।
सन् २०२५ मे २८ मा भएको घटनाबारे भारतीय प्रहरीले जिल्ला प्रहरी कार्यालय, कैलालीसँग सम्पर्क गरी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नम्बर २ निवासी ४६ वर्षीय उदय बिष्ट र ४५ वर्षीय भैरे बिष्ट चोरीमा संलग्न रहेको खुलेको छ।
उनीहरूले चोरीपछि लिएको गरगहना कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ निवासी पदम सुनारलाई बिक्री गरेका थिए।
तीनै जनालाई पक्राउ गरी अनुसन्धान गर्दा प्रहरीले उनीहरुको साथबाट सुनजस्तो देखिने चुरा ९ थान, धातु ४ सय ६४ ग्राम, सुनजस्तो देखिने टुक्रा २३ थान, सुन २१६ ग्राम, चाँदी ४ सय ग्रामका अन्य गरगहना बरामद गरेको छ ।
यस्तै भारतीय मुद्रा ४४ हजार १ सय २१ , नेपाली रुपैया १२ लाख ९२ हजार ३२० र अन्य विदेशी मुद्रा: रु १५ हजार ४ सय ६५ बराबर समेत बरामद गरेको छ ।
उक्त सम्पत्ति बिहिवार स्थानीय जनप्रतिनिधिको रोहबरमा धनी एस. रमेश बाबुलाई बुझाइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरी को तर्क छ ।