गोदावरी नगरपालिकाभित्रका १५ सामुदायिक माध्यमिक विद्यालयमा लागू पदार्थ दुर्व्यसन नियन्त्रण तथा रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। सामाजिक विकास मञ्च, सुदूरपश्चिम प्रदेश अत्तरियाको आयोजनामा र इलाका प्रहरी कार्यालय मालाखेतीको सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको हो।
बुधवार अत्तरियास्थित दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालयमा आयोजित समापन कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रम अन्तर्गत कक्षा ९ देखि १२ सम्मका करिब तीन हजारभन्दा बढी विद्यार्थीहरूलाई लागू औषधका प्रकार, दुष्प्रभाव, असर, तथा त्यसबाट जोगिने उपायबारे जानकारी प्रदान गरिएको थियो।
नगर प्रमुख भट्टले विद्यालय तहका किशोर-किशोरीहरू जोखिमयुक्त उमेर समूहमा पर्ने भएकाले उनीहरू लागू औषध जस्ता कुलतमा फस्ने सम्भावना बढी हुने बताउँदै यस्ता चेतनामूलक कार्यक्रम अत्यावश्यक रहेको उल्लेख गरे। उनले भने, “यही संवेदनशीलतालाई ध्यानमा राख्दै अब नगरका प्रत्येक वडामा कम्तीमा एक विद्यालयमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ।”
भट्टले अभिभावकहरूलाई पनि सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्दै बालबालिकाको उपस्थिति, व्यवहार र अनुशासनबारे विद्यालयसँग नियमित सम्पर्क राख्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागिता जनाएका विद्यार्थी र शिक्षकहरूले यस्ता गतिविधिबाट महत्वपूर्ण जानकारी प्राप्त भएको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने माग गरेका छन्।