कम उमेरमा हुने विवाह (बालविवाह) को रोकथाम तथा किशोर–किशोरीहरूमा सचेतना फैलाउने उद्देश्यले चुरे गाउँपालिकाको न्यायिक समितिको आयोजनामा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम चुरे गाउँपालिका–६ अन्तर्गत श्री भगवती माध्यमिक विद्यालय, कोट र श्री मेलकटेश्वर माध्यमिक विद्यालय, वयला मा गरी सम्पन्न गरिएको हो। कार्यक्रमको सभाध्यक्ष गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक धना देवी थापा रहनुभएको थियो।
कार्यक्रममा पत्रकार, सुरक्षाकर्मी, शिक्षक, अभिभावक, र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वक्ताहरूले बालविवाहले किशोर–किशोरीहरूको शारीरिक र मानसिक स्वास्थ्य, शिक्षामा पहुँच, तथा भविष्यमा गम्भीर असर पार्ने भएकाले यसको अन्त्यका लागि समुदाय, विद्यालय र सम्बन्धित सबै निकाय एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममार्फत किशोर–किशोरीहरूलाई बालविवाहका जोखिम, कानुनी प्रावधान, र दीर्घकालीन प्रभावबारे जानकारी दिइएको थियो।
न्यायिक समितिले विद्यालय तथा समुदायस्तरमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।