कैलालीको गौरीगंगा नगरपालिका–७, कैलाशपुरमा एक सुत्केरी महिलाको आफ्नै देवरद्वारा हत्या गरिएको खुलासा भएको छ। १९ वर्षीया तुलसी नाथ १६ दिनअघि मात्र आमा बनेकी थिइन्। उनको शव शुक्रबार बिहान घरबाट झन्डै ८ सय मिटर टाढा फेला परेको थियो।
प्रहरीका अनुसार तुलसीको हत्याको आरोपमा उनका २० वर्षीय देवर नवीन नाथलाई पक्राउ गरिएको छ। प्रारम्भिक अनुसन्धानपछि नवीनले हत्या स्वीकार गरिसकेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रणबहादुर चन्दले जानकारी दिएका छन्।
डिएसपी चन्दका अनुसार घटनाको दिन जेठ २० गते नवीनका बुवा–आमा अछाम गएका थिए। घरमा सुत्केरी तुलसी, नवीन दम्पत्ती र कक्षा ९ मा अध्ययनरत नवीनकी बहिनीमात्र थिए। राति श्रीमती र बहिनी निदाएको थाहा पाएपछि नवीन चुपचाप तुलसी रहेको कोठामा पसेर हत्या गरेको बयान दिएका छन्।
हत्या पछि नवीनले तुलसीको कानका आठ वटा सुनका मुन्द्रा र गलाको पोते निकालेर शव व्यवस्थापन गर्न थालेका थिए। उनले शव घरदेखि झन्डै ८ सय मिटर टाढा लगेर फालेको प्रहरीको भनाइ छ।
शरीरमा कुनै चोटपटक नदेखिएकाले सुरुमा मृत्युलाई दुर्घटनाको रूपमा लिने प्रयास गरिएको थियो। तर सुनका गरगहना हराएको थाहा पाएपछि प्रहरीलाई शंका लागेर अनुसन्धान तीव्र बनाइएको थियो। घटनापछि प्रहरी अनुसन्धानमा सक्रिय देखिएका नवीनमाथि शंका बढ्दै गएको र निगरानीपछि उनले अपराध स्वीकार गरेका हुन्।
प्रहरीले नवीनले लुटेका गरगहना घर नजिकै ढुंगाले च्यापेर लुकाएको अवस्थामा फेला पारेको छ।
नवीन भारतबाट बिरामी भएर चैत महिनामा मात्रै घर फर्किएका थिए। बेरोजगार अवस्थाका नवीनले भाउजूसँग पटक–पटक पैसा माग्ने गरेकामा पैसा नदिएको झोकमा हत्या गरेको प्रहरीसँगको बयानमा उल्लेख छ।
हाल नवीन प्रहरी हिरासतमा छन् र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।