कंचनपुरको कृष्णपुर नगरपालिका–४ र ५ मा फैलिएको हरियाली सामुदायिक बन जिल्लाकै नमुना बन बन्ने दिशामा अघि बढेको छ।
उपभोक्ता समितिको सक्रियता र संरक्षणको निरन्तर प्रयासले बनको स्वरूप दिनप्रतिदिन परिवर्तन हुँदै गएको छ।
२०६५ सालमा स्थापना भएको उक्त सामुदायिक बन करिब ४९३.९४ हेक्टर क्षेत्रफलमा फैलिएको छ। हालसम्म १,५०० जना उपभोक्ता आबद्ध रहेको समितिले जनाएको छ।
हरियाली सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष नित्यानन्द जेठाराका अनुसार उपभोक्ताको समर्पण र समितिको योजनाबद्ध कामकै कारण बन आजको अवस्थामा पुगेको हो।
"बनसँग सरोकार राख्ने जोकोही व्यक्ति वा संस्था कंचनपुर आएर हरियाली बनको अवलोकन गरेर फर्कन्छन्," अध्यक्ष जेठाराले भने, "अहिले यहाँ वैज्ञानिक बन व्यवस्थापन लागू भइसकेको छ, त्यसअनुसार हजारौं नयाँ बिरुवाहरू हुर्किंदै छन्।"
बनको व्यवस्थापन हेर्न र सिकाइ अनुभव लिन अन्य जिल्लाका उपभोक्ता समितिका प्रतिनिधिहरू समेत आउने गरेका छन्। सामुदायिक बनले हरेक वर्ष उपभोक्तालाई आवश्यक काठ उपलब्ध गराउँदै आएको छ। त्यस्तै, दाहसंस्कारका लागि आवश्यक पर्ने दाउरा निःशुल्क उपलब्ध गराउँदै आएको छ।
स्थानीयको सक्रिय सहभागिता, वैज्ञानिक प्रणालीको अपनत्व र समर्पित नेतृत्वका कारण हरियाली सामुदायिक बन कंचनपुरको मात्रै नभई सुदूरपश्चिमकै नमुना बनको रूपमा चिनिन थालेको छ।