कैलालीमा २७ ग्राम ३८० मिलिग्राम खैरो हेरोइनसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा तीनवटा फरक स्थानबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीको कमाण्डमा गएको टोलीले घोडाघोडी नगरपालिका वडा नं. १ स्थित एक बाँझो घरबाट २१ ग्राम ८२० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ।
यस्तै, ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले गोदावरी नगरपालिका वडा नं. ५ गेटाबाट ५ ग्राम १८० मिलिग्राम लागू औषध बरामद गरेको हो।
त्यसैगरी, वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका वडा नं. २, कैलालीपुल नजिकको सडक खण्डबाट ३८० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ।
साथै प्रहरीले शुख्खडका उमेश नाथ योगी ,विनोद मिजार , नबिन मिजार,दिनेश बहादुर बिष्ट , मुकेश बस्नेतलाई पक्राउ गरेको छ । यस्तै गोदावरीका कमल रिजाल र चिरञ्जीवी बि.क. लाई पनि पक्राउ गरेको छ ।
पक्राउ परेका सबैलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।