धनगढीमा सादा पोशाकमा खटिएका प्रहरी तथा सुराकर्मीहरू संगठित तस्करीमा संलग्न रहेको आरोप लगाउँदै एक बेनामी उजुरी परेको छ।
‘राम सिंह’ नामबाट नेपाल पत्रकार महासंघ, कैलाली शाखामा पठाइएको उक्त उजुरीमा, सादा पोशाकका प्रहरी र सुराकी टोलीहरू भारतबाट चिनी, मल, उखु (गन्ना) लगायतका सामग्रीहरू रातारात भित्र्याउने र त्यसको बदलामा व्यापारीहरूसँग मासिक लाखौं रुपैयाँ असुल गर्ने गरेको दाबी गरिएको छ।
पत्रकार महासंघका अध्यक्ष श्रवण देउवाले उजुरीलाई ‘सूचनाको रूपमा’ लिइएको स्पष्ट पार्दै भने, “महासंघसँग अनुसन्धानको अधिकार नभए पनि पत्रकारहरूले सत्यता पुष्टि गरी समाचार सम्प्रेषण गर्न सक्नेछन्।” उनका अनुसार, उजुरी गम्भीर प्रकृतिको भएकाले सम्बन्धित निकायको ध्यानाकर्षण आवश्यक छ।
उक्त उजुरीमा कैलालीका प्रमुख सीमावर्ती नाका टिकापुर, भजनी, हँसुलिया, फूलबारी, जुगेडा, नल्का घाट, डोकेबजार, त्रिभुवन बस्ती, बेलौरी र भुडा—मार्ग हुँदै तस्करी भइरहेकाले यिनलाई 'संवेदनशील नाका' को रूपमा पहिचान गरिएको छ। उजुरीमा उल्लेख भएअनुसार, ती नाकाबाट दैनिक लाखौं रुपैयाँ बराबरका वस्तुहरू ओसारपसार भइरहेको छ।
सादा पोशाकमा परिचालित प्रहरी, सुराकी ब्यूरो इन्चार्ज, सिभिल इन्चार्ज तथा ‘टाइगर टोली’ का केही सदस्यहरूले हाकिमलाई जानकारी नदिई तस्करी सहज बनाएको र व्यापारिक लाभमा सक्रिय संलग्नता जनाएको पनि आरोप छ। उजुरीमा केही प्रहरी अधिकारीहरूको नाम समेत उल्लेख गरिएको जनाइएको छ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले भने, “महासंघमा परेको उजुरीबारे हालसम्म जानकारी पाएको छैन।” यद्यपि उनले थपे, “हामीसँग लिखित वा मौखिक उजुरी प्राप्त भएमा त्यसबारे प्रारम्भिक छानबिन हुनेछ र आरोप प्रमाणित भएमा प्रहरी ऐन तथा नियमावलीअनुसार कारबाही अगाडि बढाइनेछ।”
उजुरीकर्ताले संघीय सरकार, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।