ईलाका प्रहरी कार्यालय अत्तरियामा हालै सरुवा भई आएका डिएसपी रण बहादुर चन्दलाई स्वागत गर्ने होडबाजी चलेको छ।
खादा-मालासहित कार्यकक्षमै भिड लाग्ने गरेको छ भने स्थानीय संघसंस्थाले दिनहुँ स्वागत कार्यक्रममा बोलाउने क्रम बढेको छ।
यसरी अनावश्यक स्वागत सत्कारले नियमित प्रहरी प्रशासनको कामकाजमा अवरोध पुग्ने भन्दै केही स्थानीय अगुवाले असन्तुष्टि जनाएका छन्।
उनीहरूका अनुसार, प्रहरी प्रशासन जस्तो संवेदनशील क्षेत्रमा कार्यरत अधिकृतलाई शालीन र व्यावसायिक ढंगले काम गर्न दिनु जरुरी छ।
कांग्रेसका युवा नेता लोकराज पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, “अत्तरियामा नयाँ प्रहरी प्रमुख आउँदा संवाद र अन्तरक्रिया स्वाभाविक हो, तर आउँदा र जाँदा फुलमाला ले स्वागत-बिदाइ गर्नु किन र केका लागि?” भन्दै अति नर्गन आग्रह गरेका छन्।
त्यस्तै, दुर्गालक्ष्मी नमुना विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले पनि समाजको चाकरी प्रवृत्तिप्रति आलोचना गरेका छन्। उनले भनेका छन्, “एक सामान्य सरुवा प्रक्रियाबाट आएका प्रहरीलाई सुरुवातमै फूलमाला सहित स्वागत गर्नु उपयुक्त छैन। बरु परिचयात्मक कार्यक्रममार्फत सहकार्यको सुरुवात गरिनुपर्छ।”
डिएसपी चन्दले आफैँले केही दिनअघि स्थानीयसँग परिचयात्मक कार्यक्रम गरी आगामी कार्ययोजनाबारे सुझाव मागिसकेका छन्।