कैलालीको गोदावरी नगरपालिका वडा नं. ७, लालपुरस्थित श्री ग्वासी समैजी तथा श्री प्रकटेश्वर शिव मन्दिर परिसरमा श्रीमद्भागवत पितृ मोक्ष सप्ताह ज्ञानविज्ञान महायज्ञ विधिवत रूपमा सुरु भएको छ।
महायज्ञको उद्घाटन गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले गरेका हुन्। सो अबसरमा बोल्दै उनले धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण यस स्थलमा महायज्ञ सुरु हुनु सकारात्मक संकेत भएको बताए। “यसले समाजमा सकारात्मक ऊर्जा फैलाउनेछ,” नगर प्रमुख भट्टले उद्घाटन समारोहमा सम्बोधन गर्दै भने।
उनले गोदावरी नगरपालिकालाई पवित्र धार्मिक तीर्थस्थलको नामबाट नामाकरण गरिएको उल्लेख गर्दै भने, “धर्म र संस्कृति संरक्षण मात्र होइन, यहाँ आध्यात्मिक पार्क निर्माणको अभियान पनि अगाडि बढाइएको छ,।'
नगर प्रमुख भट्टले यस्ता कार्यक्रमहरूले धार्मिक चेतना फैलाउने, सामाजिक एकता बलियो बनाउने र नयाँ पुस्तालाई धर्म संस्कृतिप्रति प्रेरित गर्ने विश्वास व्यक्त गरे। उनले मन्दिर क्षेत्रको सर्वाङ्गीण विकास तथा आध्यात्मिक पर्यटन प्रवर्द्धनका लागि नगरपालिका सधैं तयार रहेको बताए।
महायज्ञको पूर्वसन्ध्यामा भव्य कलश यात्रा निकालिएको थियो। कार्यक्रमका प्रमुख वाचक अच्युत शरण महाराज (धिताल) तथा यज्ञाचार्य पण्डित हरेन्द्र प्रसाद जोशी रहेका छन्। बाल संस्कार अभियन्ता समीक्षा दास गिरीको विशेष सहभागिता पनि रहेको आयोजक समितिका सदसय विष्णु राज जोशीले जानकारी दिए।