धनगढी – कैलालीको धनगढी उप महानगरपालिका–३ चटकपुर र कञ्चनपुरको राजघाट जोड्ने मोहना—राजघाट पुल अलपत्र परेको छ । सम्झौता अनुसार तीन वर्षअघि नै निर्माण भइसक्नुपर्ने पुल ठेकेदारको लापरवाहीका कारण निर्माणको काम अलपत्र परेको हो ।
कैलाली र कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदीमा काम शुरु भएको साढे पाँच वर्ष पुग्न लाग्दा पनि पुल निर्माण हुन सकेको छैन । सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार दुई वर्ष्भित्र काम सम्पन्न गर्ने गरी २०७१ असारमा एलाइट एड्भेन्चर जेभी सँग पुल निर्माणको सम्झौता भएको थियो ।
सम्झौता अवधिमा पुलको पिलर निर्माणको काम मात्रै सकिए पछि सडक विभागले निर्माण अवधि दुई वर्ष थप गर्दा पनि थपिएको एक वर्षमा पुल बन्न सकेको छैन । पछिल्लो पटक थप गरिएको समय गत असारमा सकिएको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ ।
ठेकेदारको लापरवाहीले दुईपटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेको डिभिजन कार्यालयका प्रमुख अर्जुन बमले बताउनुभयो । कूल १२० मिटर लामो पुलका लागि तीन वटामध्ये दुईवटा ‘स्पान’ बन्न बाँकी रहेको बताउँदै बमले भन्नुभयो, “तेस्रो स्पान राख्नका लागि अहिले माटो भरणको काम भइरहेको छ । ठेकेदारले राम्ररी काम गरे जेठभित्र पुल बन्छ”, उहाँले भन्नुभयो, “जतिसक्दो चाँडो सक्ने गरी काम गराउने पहल गरिरहेका छौँ ।”
निर्माण कम्पनीका सञ्चालक चन्द्रशेखर मल्लले अवधि थपको माग सहित निवेदन दिएको बताउनुभएको छ । पुल बनाउने म्याद दुई पटक थप गर्दा पनि काम नभएकाले अब म्याद थप नहुने डिभिजन प्रमुख बमको भनाइ थियो । काममा लापरवाही गरेको निर्माण कम्पनीले म्याद थप गर्नुपर्ने उचित कारण र प्रमाण सिद्ध गर्न नसकेकाले म्याद थप नहुने सडक डिभिजनले जनाएको छ ।
शुरुमा सात करोड ४२ लाखमा निर्माण सम्झौता भएको थियो । अझै करीब ३० प्रतिशत भन्दा बढी काम बाँकी रहेको सडक डिभिजनले जनाएको छ । पुल नहुँदा नदी तर्नका लागि यात्रुले सास्ती खेप्दै आएका छन् । बर्खायाममा नदीमा डुङ्गा र हिउँदमा काठेपुलबाट स्थानीय बासिन्दाले नदी तर्नुपर्ने बाध्यता छ ।
दुई जिल्लाको सीमामा बग्ने मोहना नदीमाथि पुल नहुँदा त्यहाँका स्थानीय बासिन्दा दूध, तरकारी बेच्न र उपभोग्य सामान किन्न, बैंकिङ कारोवार, रोजगारी तथा औषधि उपचार लगायत कामका लागि दैनिक तीन÷चार सय जनाभन्दा बढी धनगढी बजार पुग्ने गरेको स्थानीयवासी कमल चौधरीले बताउनुभयो । (रासस)