काठमान्डौं- अहिले म्यादी प्रहरीको तालिम सञ्चालन भईरहेको छ । असोज ३० देखि कात्तिक ८ गतेसम्म तालिम सञ्चालन हुनेछ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेकप्रसाद राईका अनुसार तालिम सकेको भोलिपल्ट अर्थात् कात्तिक ९ गतेबाट सुरक्षामा म्यादी प्रहरीलाई परिचालन गरिने बताए ।
भदौ ३० देखि असोज ६ गतेसम्म देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत् एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न आह्वान गरेको थियो । कात्तिक ९ गतेदेखि परिचालन गरिने सुरक्षा कार्ययोजनाअनुसार छनोट भएकालाई असोज ३० देखि कात्तिक ८ गतेसम्म तालिम दिइने प्रवक्ता टेकप्रसाद राईले बताएका छन् ।
प्रवक्ता राईका अनुसार आगामी मंसिर ४ गते देशभर एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुस्त सुरक्षा व्यवस्थाको तयारी भइरहेको छ ।
निर्वाचनका लागि करिब तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने गृह मन्त्रालयको निर्वाचन सुरक्षा कार्ययोजना छ । जसमा करिब ७५ हजार सेना, ६५ हजार प्रहरी, ३२ हजार सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका करिब एक हजार पाँच सय र एक लाख १५ हजार म्यादी प्रहरी खटाउने तयारी गरिएको छ ।
म्यादी प्रहरीले पाउने तलब १५ प्रतिशतले वद्धि भएको छ । चालु आर्थिक वर्षमा सबै राष्ट्रसेवक कर्मचारीको तलब १५ प्रतिशत बढेकाले म्यादीले पाउने तलब पनि सोहीअनुसार कायम रहको छ ।
म्यादी प्रहरीले ४० दिनको तलब, भत्ता, खाजा बापतको ५० हजार १६० रुपियाँ पाउने छन् । स्थानीय निर्वाचनको तुलनामा म्यादीलाई करिब ६ हजार रुपियाँ बढी दिइएको छ । म्यादीको तलब प्रहरी जवानको सुरु तलब स्केलअनुसार निर्धारण गरिएको छ ।
म्यादीमा नियुक्ति भएको ३० दिनपछि ५० प्रतिशत र बाँकी रकम अवकाशमा जानुअघि भुक्तानी दिइने मापदण्ड छ । रासनबापत पाउने भत्ता नियुक्ति बुझेको १० दिनभित्र २० दिनको र बाँकी २० दिनको अवकाशमा जानुअघि उपलब्ध गराइने छ ।
अर्थ मन्त्रालयले म्यादी प्रहरीका लागि पाँच अर्ब ८६ करोड ३९ लाख ५० हजार रुपियाँको व्यवस्था गरेको छ ।