अत्तरिया - सुदूरपश्चिम प्रदेशको राजधानी घोषणा भएको आज १ बर्ष पुरा भएको छ । गत बर्ष असोज १२ गते अर्थात आजकै दिन कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा पर्ने गोदावरी क्षेत्रलाई प्रदेशको स्थायी राजधानी घोषणा गरिएको थियो ।
१ बर्ष अगाडी सुदूरपश्चिम प्रदेशसभाको दुई तिहाईले राजधानी गोदावरी राख्ने र प्रदेशको नाम सुदूरपश्चिम प्रदेश राख्ने निर्णय गरेको थियो । राजधानीको नाम कार्यन्वयमा आयो तर संगै निर्णय भएको राजधानी तोकिएको क्षेत्र गोदावरीमा राजधानीका लागि कुनै पनि पक्रिया अगाडी बढ्न सकेन ।
राजधानी तोकिएको क्षेत्रमा अहिलेसम्म प्रदेश सरकारले साईनबोर्ड समेत लगाएको छैन भने राजधानी निर्माणका लागि तोकिएको क्षेत्रमा भौतिक संरचना निर्माणका लागि गरिनुपर्ने पहिलो काम वातावरणीय प्रभाव मूल्यांकन , डिपीआर लगायतका कुनै पनि काम हुन सकेको छैनन् ।
राजधानी निर्माण हुने – नहुँनेमा स्थानियको आशंका
गोदावरीमा राजधानी घोषण भएपछि गोदावरी राजधानी तोकिएको क्षेत्रमामा खोकामा किराना पसल संचालन गरेका गोदावरी २ तेघरीका स्थानिय पदम बहादुर खड्का निकै खुसि भएका थिए ।
आफ्नौ क्षेत्रमा राजधानी तोकिएपछि आफ्नो व्यवसाय पनि बढ्ने भयो भन्दै उनी आफ्नो व्यवसाय पनि बढाउने सोच बनाएका थिए । तर राजधानी तोकिएको आज एक बर्ष पुरा भएको दिन उनी निरास छन । खड्काले भने – ‘अब राजधानी हुने हो कि होईन, किन अहिले सम्म केहि काम अगाडी बढेन, केहि थाहा पाउँन सकिएको छैन ।’ उनले राजधानी तोकेर १ बर्ष सम्म पनि केहि काम नगर्नुले कतै राजधानी अन्त सार्न खोजिएको पो होकि भन्ने आशंका बढेको बताए ।
अर्का स्थानिय बिसेश्वर भट्टले गोदावरीमा राजधानी के कारण कार्यान्वय नभएको भन्ने आफूलाई थाहा नभएपनि राजधानी हुने हो वा होईन भन्नेमा आशंका बढेको बताए । उनले आफूहरुको चाहना एक पटक निर्णय गरिएको क्षेत्रमै राजधानी होस भन्ने भएको बताए ।
स्थानिय दुर्गा देवि खड्काले राजधानी बन्ने भनेर हाल्लि खल्ली मात्रै गरेको तर केहि काम अगाडी नहँुदा आफूहरु निरास भएको बताईन । ‘राजधानी हाम्रै क्षेत्रमा तोकिएको छ भनेर नेताहरुले भाषण गरेको सुने ।’ खड्काले भनीन् –‘अहिले कोहि पनि देखिदैनन्, नत राजधानी नै बन्यो । सरकारले अब चाडो राजधानी निर्माण गनुपर्छ ।’
राजधानी तोकिएको क्षेत्रमा रहेको स्थानिय सरकार मौन
प्रदेशकै राजधानी तोकिएको गोदावरी नगरपालिकाले समेत राजधानी निर्माणका लागि खासै चासो देखाएको पाईदैन । नगरपालिकाका जनप्रतिनिधिहरुले पछिल्लो समय राजधानीका बिषयमा बोल्न समेत छोडेका छन ।
गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउँदले भने आफूहरुले निरन्तर पहल गरिरहेको बताएका छन । उनले केहि दिन पहिले मात्रै वातावरण प्रभाव मूल्याङ्कनका लागि केन्द्रबाट आएको टोलिसंग छलफल गरी तथा वडा अध्यक्ष सहितको टोलि राजधानी क्षेत्रमा गएको बताए ।
उनले प्रदेश सरकारको दुई तिहाई बहुमतले गरेको निर्णय सबैले मान्नु पर्ने भएपनि केहि कानुनी जटीलताले गर्दा आफूहरुले थप केहि गर्न नसकेको बताए ।
प्रदेश सरकार भन्छ काम गरिरहेका छौ
राजधानी घोषण गरेको प्रदेश सरकारले भने राजधानी निर्माणका लागि आफूहरु निरन्तर लागिरहेको बताउने गरेका छ । केहि कानुनी जटीलताले समस्या आएकोले कार्यान्वयमा ढिलाई भएको प्रदेश सरकार बताउँदै आएको छ ।
आन्तरीक मामीला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले राजधानी तोकिएको क्षेत्रको जग्गाको भोगाधिकार प्रदेश सरकार मातहत नआएका कारण काम अगाडी बढाउन समस्या भएको बताए ।
उनले जग्गाको भोकाधिकारका लागि प्रधानमन्त्री कार्यालयलाई आग्रह गरिएको बताए । प्रधानमन्त्री कार्यालयले वन मन्त्रालाई पत्राचार गरिसकेकाले अबको केहि दिनमा यसको छिनोफानो हुनेमा आफूहरु बिश्वस्त रहेको मन्त्री शाहले बताए ।
उनले अर्को जटिलताका रुपमा सर्वोच्च अदालमा राजधानीका बिषयमा मुद्धा पर्नुले राजधानी निर्माणको प्रक्रिया लम्बिएको बताए । उनले मुद्धालाई छिटो टुङ्ग्याउने बिषयमा प्रदेश सरकार लागिरहेको बताए ।
राजधानी कार्यन्वयका लागि डिपीआर लगायतका कामका लागि प्रदेश सरकारले चालु आर्थिक बर्षमा ५ करोड छुट्याएको बताउँदै यी सबै प्रक्रिया टुङ्गीएमा राजधानी निर्माणको प्रक्रिया अगाडी बढ्ने मन्त्री शाहको भनाई छ ।
राजधानी तोकिएको क्षेत्र गोदावरी नगरपालिका २ मा पर्ने तेघरी सामुदायिक वनमा पर्छ । राजधानीको सम्पुर्ण भैतिक संरचना निर्माणका लागि ३ सय ४१ हेक्टर आवश्यक पर्ने देखिएको छ ।