अत्तरिया - कैलालीको अत्तरियामा बजार क्षेत्रमा गरिएको वन अतिक्रमण हटाउन सुरु गरिएको छ । गोदावरी नगरपालिक वडा नं १ मा पर्ने सुरक्षा महिला सामुदायिक बन क्षेत्रमा दिनप्रदिन अतिक्रमण बढ्न थालेपछि आजवाट अतिक्रमण हटाउन सुरु गरिएको हो ।
डिभिजन वन कार्यालय कैलाली , सब डिभिजन वन कार्यालय अत्तरिया र सुरक्षाकर्मीहरुको उपस्थितीमा वनको जग्गा अतिक्रमण गर्दै बनेका टहराहरु भत्काउनुका साथै घर बनाउनका लागि राखिएका ढुगांहरु नियन्त्रणमा लिएको सुरक्षा महिला सामुदायिक वनकी अध्यक्ष लक्ष्मी भण्डारीले जानकारी दिइन् ।
उनले बजार क्षेत्रमा एक पछि अर्को गर्दै वनको जग्गा अतिक्रमण गरेर घेरवार गर्ने , घर टहराहरु बनाउने र खेती गर्न थालेपछि आज सबैको उपस्थितीमा डोजर लगाएर खाली गरिएको बताए । उनले आज पहिलो दिन पूर्व रोडको दक्षिण बनखेत र भरतपूर तिरको अतिक्रमण गरि बनाएका घरहटरा भत्काउनुका साथै खेती गरिएको जग्गा खाली गराएको बताइन् ।
वनको जग्गा अतिक्रमण नगर्न र गरिएको भाग खाली गर्न भनेर पटक पटक सुचना टासेर आग्रह गरेपनि नमानेर अटेरी गरेपछि बाध्य भएर डोजर मार्फत खाली गराउनु परेको उनको भनाई छ । उनले पुुराना भन्दा पनि अहिले नयाँ अतिक्रमण झन बढ्न थालेकाले बन वरपरको जग्गा छुट्याउदै बिचमा नाली बनाइएको बताइन् ।
अब अतिक्रमण हटाएर नाली बनाइएको ठाउँमा तारबार हाल्ने गरेर बृक्षारोपण गर्ने बताएका छन् । उनले अझै अतिक्रमण हटाउन बाकिँ रहेकाले यस कार्यलाई अब निरन्तरता दिइने बताएकी छन् ।
अतिक्रमण हटाउदाँ सामुदायिक वनकी अध्यक्ष भण्डारी , सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरन्जन कडाल , जिल्ला वनका कर्मचारी , वन रक्षक र ईलाका प्रहरी कार्यालय मालाखेतीवाट सुरक्षाकर्मीहरु पनि सहभागि रहेका थिए । अतिक्रमण हटाउने क्रममा स्थानियहरुले बिरोध समेत जनाएका थिए ।