अत्तरिया - प्रत्येक १०\१० वर्षमा हुदै आएको राष्ट्रिय जनगणना २०७८ सम्पन्न भैसकेको छ । मेरो गणना मेरो सहभागिता भन्ने मुल नाराका साथ गएको कार्तिक महिनाको २५ गते देखि मंसिर ९ गते सम्म भएको राष्ट्रिय जनगणना २०७८ बिना कुनै अवरोध सम्पन्न भएको बताएको छ ।
केन्द्रीय तथ्यांक विभागले नेपालको जनसंख्या २ करोड ८० लाख देखि ३ करोडको हाराहारीसम्म पुग्ने अनुमान समेत गरिसकेको छ । तर जनगणना अभियान सकिएको र जनसंख्या अनुमान समेत भैरहेका बेला यो कार्यक्रम खाली झारो टार्ने काम मात्रै भएको आरोप लगाएका छन् ।
अभियान सम्पन्न भैसकेको बताएपनि धेरै नेपालीहरुले आफ्नो गणना नै नभएको गुसानो गरेका छन् । सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिकामा मात्रै दजनौ घरमा गणना गर्न कोही पनि नआएको गुनासो ब्यापाक उठ्न थालेको छ । गाउँ गाउँको त कुरै छोडौ गोदावरी नगरपालिकाको मुख्य बजार अत्तरियामै बसोबास गर्ने स्थानियहरुले आफ्नो घरमा अहिले सम्म कोही पनि जनगणनाको तथ्याङ्क लिन नआएको बताएका छन् ।
अत्तरियामा घर भएकी गोदावरी होटल ब्यबसायी संघकी अध्यक्ष धना चोखालले बजार क्षेत्रमा अहिले सम्म कोही पनि गणनाका लागि नपुगेको बताइन् । उनले राष्ट्रिय जनगणना २०७८ अभियान सुरु भएको भन्ने सुनेको र कोही आउँछन कि भनेर बिचार गरिरहेका बेला एक्कासी अभियान सम्पन्न भएको खबर पाएपछि निकै उचम्म लागेको बताइन् ।
उनले आफ्नो घरमा मात्रै नभएर आफुले सोधीखोजी गर्दा अत्तरिया बजारका ५० भन्दा बढी घरमा जनगणनाका लागि कोही पनि नपुगेको पाइएको बताइन् । उनले राष्ट्रिय जनगणना कार्यक्रम झारो टार्ने काम मात्रै भएको बताएकी छन् । उनले आफूहरु पनि यो देशको नागरिक भएकाले जन गणनामा खटिएकाहरुले यस्तो झारो टार्ने काम गर्न नहुने बताइन् ।
यस्तै गोदावरी नगरपालिका वडा नं २ तेघरीका स्थानिय प्रकाश बोहराले पनि जनगणनाका लागि आफ्नो घरमा पनि कोही नआएको बताए । जनगणना सम्पन्न भएको खबर पाएपछि घरपरिवारमा सोधपुछ गर्दा अहिले सम्म तथ्याङक लिन कोही पनि नआएको पाएको उनको भनाई छ ।
उनले मेरो गणना मेरो सहभागिता नारा भएपनि धेरैको गणना बिना नै हतारमा जनगणना गरिएको बताए । अझै छुटेकाहरुलाई पनि समेट्नका लागि पुन गणनाका लागि गणकहरु खटाउन अत्तरियाबासीले माग गरेका छन् ।
आफुहरुको पनि सहभागितालाई अनिवार्य गराउनका लागि पुन गणकहरु खटाएर जनगणनाको तथ्याङ संकलन गर्नुपर्ने होटल ब्यासायी संघकी अध्यक्ष चोखालले माग गरिन् । उता सुदूरपश्चिम प्रदेश जनगणना कार्यालय कैलालीले भने जनगणनाको गर्ने म्याद सकिएकाले अब भने छुटेकाहरुको गणना गर्न नसकिने बताएको छ ।
सुदूरपश्चिम प्रदेश जन गणना कार्यालय कैलालीका प्रमुख सुरेन्द्र राबलले ९ गते सम्मको म्याद रहेकोमा १४ गते सम्म छुटेकाहरुलाई अत्तरियामै रहेको जनगणनाको कार्यालयमा गएर नाम टिपाउन आग्रह गरेपछि धेरैले आफ्नो र परिवारको विवरण टिपाएको बताए ।
उनले गणकहरु घर घरमा गएपनि घरमा कोही नभेटिदाँ फर्किदाँ छुटेको हुनसक्ने बताए । उनले अहिले जिल्लाको सबै विवरण र फारामहरु तयार पारेर केन्द्रिय तथ्याङक विभागमा पठाइसकेकाले अब गणना गर्न भने सम्भव नरहेको बताएका छन् ।
केन्द्रीय तथ्यांक विभागले जिल्ला जनगणना कार्यालयबाट मंसिर मसान्त सम्ममा जिल्लाको विवरण केन्द्रमा भनिएको छ ।
विभागले विवरण इन्ट्रि गर्न ६ देखि ८ महिना लाग्ने बताएको छ । एक वर्ष पछि जनगणनाको रिपोर्टहरु निकाल्न सुरु गर्ने र दुई वर्ष भित्रमा सम्पूर्ण जनगणनाको सम्पूर्ण क्रियाकलाप सम्पन्न गरिने छ ।