अत्तरिया - आज ३० औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस । यस बर्ष "हाम्रो प्राथमिकताको आधार : अपांगता भएका व्यक्तिहरुको अधिकार" भन्ने मुल नाराका साथ नेपालमा पनि बिबिध कार्यक्रम गरी मनाइएको छ ।
यता कैलालीको गोदावरी नगरपालिकामा भब्य रुपमा दिवस मनाईएको हो । गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा नगर स्तरिय अपाङ्ग कार्य संजाल गोदावरीले गोदावरी २ मा रहेको सु.प समाबेशी बिधालयमा कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
कार्यक्रम सुरु हुनुपूर्व अपाङ्गता भएकाहरुको क्षेत्रमा संबिधानले तोकेका कुराहरु कार्यन्व्यन गर भन्दै नगर स्तरिय अपाङ्ग कार्य संजालका पदाधिकारीहरु , अपाङ्गता भएका ब्यक्तिहरुको क्षेत्रमा काम गर्दै आएका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र सु.प समाबेशी बिधालयकाले बिधार्थीहरुले अत्तरिया बजारमा परिक्रमा गरेका थिए ।
अत्तरिया चोक बरपर परिक्रमा पश्चात नगर स्तरिय अपाङ्ग कार्य संजाल गोदावरीकी अध्यक्ष पुष्पा रोकायाको अध्यक्षतामा औपचारिक कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा गोदावरी नगरपालिका नगर प्रमुख हरि सिं साउँद प्रमुख अतिथी रहेका थिए भने उप प्रमुख रत्ना कडायत बिशिष्ट अतिथी रहेकी थिइन् । कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले शारिरिक रुपले अपाङ्ग भएकै कारण कसैले पनि अपहेलना गर्न नहुने बताए ।
उनले शारिरिक रुपमा अपाङ्गता भएपनि बौद्धिक रुपमा सबै जना क्षमतावान हुने रहेकाले भोली कुनै बिषयको राम्रो अध्यन गरेर बैज्ञानिक समेत बन्न सक्ने बताए । उनले हरेक बर्ष मनाइदै आएको अन्तर्राष्ट्रिय अपाङ्ग दिवसले पनि अपाङ्ग भएका ब्यक्तिहरुलाई थप जोस , जागर र हौसला प्रदान गर्दै आएको बताए ।
उनले अपाङ्ग भएका ब्यक्तिहरुको क्षेत्रमा संबिधानले नै धेरै हक अधिकारहरु तोकिदिएका खण्डमा त्यसको सफल कार्यन्व्यनका लागि सबैले सकारात्म भूमिका खेल्नुपर्ने बताए । उनले गोदावरी नगरपालिका यसका लागि जहिले पनि सकारात्म रहेको बताए ।
उनले नगरपालिकाले एक्लैले गर्न नसकेको खण्डमा बिभिन्न सहयोगी संघसंस्थाहरुलाई आग्रह गर्दै अपाङ्ग भएका ब्यक्तिहरुलाई आवश्यक पर्ने आर्थिक देखी अन्य आवश्यक सामाग्रीहरु सहयोग गर्दै आएको बताए ।
यस्तै सोही कार्यक्रममा बोल्दै उप प्रमुख रत्ना कडायतले अपाङ्गता भएका ब्यक्तिहरुको हक र अधिकारका लागि सबैले एक जुट हुन जरुरी रहेको बताए । उनले नगरपालिकाले अपाङ्गताको किसिम अनुसार रातो किताबमा शिर्षक अनुसार बजेट छुट्याउदै आइरहेको बताए ।
उनले नगरपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुलाई पहिलो प्रथमिकता दिदै आफै संयोजक रहेको अपाङ्ग परिचय पत्र बितरणलाई तिब्रता दिइएको बताइन् । महिनाको १ गते अपाङ्ग परिचन पत्र बितरण हुदै आएको बताउँदै उनले कसैलाई अतिआवश्यक परेको खण्डमा जुनसुकै बेला पनि परिचय पत्र उपलब्ध गराउदै आएको बताइन् ।
उनले नगरपालिकाले महिला शाखा र स्वास्थ्य शाखावाट बेला बेला बिभिन्न खाले सिपमूलक र आयआर्जन मूलक कार्यक्रमहरु पनि संचालन गर्दै आएको र अझै पनि यस्ता कार्यक्रमहरुलाई जोड दिदै जाने बताइन् । कार्यक्रममा सहभागी बिभिन्न संघसंस्थावाट आएका अपाङ्गता भएका ब्यक्तिहरुले आफूलाई दया माया भन्दा पनि अबसरको खाचो हुने गरेको बताएका थिए ।
उनीहरुले राज्य पक्षवाट कुनै सिप र आयआर्जन मूलक तालिमहरु दिएपछि परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य भएर सबै जना आफै सक्षम बन्न सक्ने बताएका छन् । यस्तै उनीहरुले अपाङ्गता भएका ब्यक्तिहरुले आफ्ना हक अधिकारको बिषयमा आफै गम्भिर भएर लाग्नुपर्ने बताएका छन् ।
नगर स्तरिय अपाङ्ग कार्य संजाल गोदावरीकी अध्यक्ष पुष्पा रोकायाले पहिलेको तुलनामा अहिले अपाङ्गता भएका ब्यक्तिहरुलाई हेर्ने दृष्टिकोणामा धेरै परिर्वतन आएकाले यो परिर्वतन अपाङ्गता भएका ब्यक्तिहरुवाटै सम्भव भएको बताइन् ।
उनले अपाङ्गताका पिडा अपाङ्गता भएकाहरुले नै बुझ्ने भएकाले संबिधानले उल्लेख गरेका र कागजमा प्रष्ट लेखिदिएका कुराहरुको कार्यन्वयन गराउन र प्राप्त गर्नका लागि अपाङ्गता भएका ब्यक्तिहरु आफै अग्रसर हुनु पर्ने बताइन् । उनले संजालका तर्फवाट आफूहरुले पनि निरन्तर अपाङ्गता भएका ब्यक्तिहरुको पक्षमा काम गर्दै आइरहेका बताइन् ।
सो कार्यक्रम पश्चात नगर स्तरिय अपाङ्ग कार्य संजाल गोदावरीले सु.प समाबेशी आधारभूत बिधालयलाई १० हजार बराबरका खाध्यन्नका साथै स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको थियो ।
यस्तै गोदावरी नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत बिर बहादुर कुबंरको बिषेश पहलमा दक्षिण कोरियाली नागरिक स्वल्मी किमले सु.प बिधालयलाई २२ हजार बराबरका सामग्रीहरु हस्तान्तरण गरिनुका साथै सोही बिधालयमा अध्यनरत ३ जना बिधार्थीहरुलाई अर्को महिना देखी प्रति महिना ५ हजारका दरले १५ हजार प्रदान गर्ने भएकी छन् ।
यस्तै सोही कार्यक्रम मार्फत आर्दश शिक्षक मेघराज रोस्यारा अपाङ्गता सहायता केन्द्र धनगढीका संस्थापक जयराज ओझाले बिभिन्न बिधालयमा अध्यनरत ८ जना अपाङ्गता भएका दलित , जनजाति र जेहेन्दार बिधार्थीहरुलाई जनही २५ सय ५ रुपैया दरले छात्राबृत्ति वितरण गरेक थिए ।
कार्यक्रममा अपाङ्गताको क्षेत्रमा कलम चलाउन २ जना पत्रकार सहित अन्य बिभिन्न ब्यक्तिहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । पत्रकारमा गोदावरी पत्रकार मञ्चका अध्यक्ष तथा गोदावरी एफ एमका सम्पादक हेमराज भट्ट रहेका छन् ।
कार्यक्रममा गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा, महिला शाखाका कर्मचारी , बिभिन्न संघसंस्थाका पदाधिकारीहरु , राष्ट्रिय अपाङ्ग महासंघका पूर्व केन्द्रिय सदस्य मान बहादुर साउँद लगाएको उपस्थिती रहेको थियो ।
कार्यक्रमको संचालन नगर स्तरिय अपाङ्ग कार्य संजाल गोदावरीका सचिब ईन्द्र बोहराले गरेका थिए ।