अत्तरिया - आज भाद्र सङ्क्रान्ति अर्थात वल्के पर्व , सुदूरपश्चिम प्रदेशमा हर्षोउल्लासका साथ आज वल्के पर्व मनाइदैछ । पिँडालुको कलिलो पात, दूध र दही सगुनको रुपमा मान्यजन, छर छिमेकीलाई बाँडेर ‘वल्के पर्व’ मनाइदैँ छ । यो पर्वमा आज प्रत्येकको घर घरमा मीठामीठा खानाका स्थानीय परिकार पकाउने गरिन्छ ।
अध्ययन र काम विशेषले घर भन्दा बाहिर रहेकाहरु पनि वल्के चाड मनाउन आ–आफ्नो घरमा फर्किएका छन् । यो पर्वमा आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकीलाई सगुनका रुपमा पिँडालुको ‘गाभा’ अर्थात कलिलो पात, साग, दूध, दही दिएर सम्मान गर्ने र आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा रहि आएको छ । वल्के पर्वका दिन विवाहिता छोरीलाई माइती घरमा आमन्त्रण गरी लाउन, बावर, माणा, निसौसे, गतानी डुब्का लगायतका स्थानीय खानाका परिकार पकाएर खुवाउने र खाने प्रचलन छ ।
यो पर्वमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिसेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाइ रमाइलो गर्ने गरिन्छ ।
यसरी पिसेर लगाइएको भँगेरीको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने भई यसले वर्षात्को मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास रहेको छ । रोगको सङ्क्रमणबाट बच्न हात खुट्टा रङ्गाइने हुँदा यो चाडलाई शरीरबाट ‘लुतो फाल्ने’ चाडका रुपमा समेत लिइने गरिन्छ ।
आजको दिन गाउघरमा सबैले आफै मिलेर बनाएको पिङ् पनि खेल्ने गरिन्छ । सदियौँदेखि मानाइदै आइएको यो चाडको रौनक र महत्वका बारेमा पाको उमेरका व्यक्ति जानकार रहे पनि नयाँ पिढीका युवायुवतीमाझ भने यो चाडले प्राथमिकता पाउन छाडेको वल्के पर्व मनाउँदै आएको जानकारहरु बताउदछन् । सुदूरपश्चिमका मौलिक संस्कृतिका वल्के जस्ता थुप्रै चाडपर्वको मौलिकता हराउन थालेकामा बुढापाखाले चिन्ता व्यक्त गर्न थालिएको छ ।