अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाले नगरबासीको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको बताएको छ ।
गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको गत आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक समिक्षा तथा आगामी योजना तर्जुमा गोष्ठी कार्यक्रममा बोल्दै नगरप्रमुख हरि सिंह साउँदले मानब जिवनका लागि स्वास्थ्य सबै भन्दा महत्वपूर्ण भएकाले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पहिलो जोड दिएको बताएका हुन् ।
उनले आफुहरु निर्वाचित भएर आइसकेपछि सबै नगरबासीहरुलाई स्वास्थ्य सेवाको पहुँचमा पुञ्याउनका लागि प्रत्येक वडामा स्वास्थ्य क्लिनिकहरु स्थापना गरिएको बताएका छन् ।
"मानव जिवनका लागि सबै भन्दा महत्वपूर्ण कुरा भनेको आफ्नो स्वास्थ्य हो , जब मान्छे स्वास्थ्य हुन्छ तब मात्र उसले आफ्नो दैनिक क्रियकलापहरु गर्न सक्छ उनले भने - " हामी निर्वाचित भएर आइसेपछि हामीले जनताको सेवाको लागि प्रत्येक वडा वडामा स्वास्थ्य केन्द्रहरु स्थापना गरेको छौ , वडाको भौगोलिकता हेरेर कुनै कुनै वडामा त २ वटा पनि केन्द्रहरु राखेका छौ ।"
उनले वडा नं २ बाहेकका सबै वडाहरुमा स्वास्थ्य केन्द्रका भवनहरु निर्माण गरिएकाले ति केन्द्रहरु छिट्टै संचालन ल्याउने तयारी गरेको बताए ।
यसका लागि नगरपालिकाले अहिले कर्मचारीहरु पनि माग गरिसकेको केही दिन भित्रै कर्मचारीहरु छनौट गरेर अपूग ठाउँहरुमा कर्मचारीहरु पठाउने नगरप्रमुख साउँदले बताए । उनले यहाँको पुरानो अस्पताल मालाखेती अस्पताललाई मात्र नभएर नगरभित्रका सबै स्वास्थ्य संस्थाको स्तरोउन्नतीका लागि आफुहरुले काम गरिरहेको बताए ।
उनले स्वास्थ्य शाखाले स्वास्थ्य क्षेत्रमा धेरै राम्रा कामहरुलाई अगाडी बढाएकाले गत बर्ष गर्न नसकेका कमी कमजोरीहरुलाई सुधार गर्दै अघि बढ्न सुझाव दिएका छन् । कार्यक्रममा बोल्दै नगरउप्रमुख रत्ना कडायतले कोरोना महामारीको समयमा यहाँका स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाको खुलेर प्रशंसा गरिन् ।
उनले कोरोनाका कारण सबै क्षेत्र बन्द भएर घर बाहिर निस्कने अबस्था नभएका बेला गोदावरी नगरपालिका भित्र रहेका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेवीकाहरुले फ्रन्ट लाईनमा उभिएर रातदिन नभनी नगरबासीको जिउज्यानको रक्षा गरेको भन्दै धन्यवाद दिइन् । तपाईहरुका कारण हाम्रो ज्यान जोगिएको छ , तपाईहरुले खेल्नुभएको भूमिकाको जति बयान गरेपनि कमै हुनेछ उनले भनिन्- " तपाईहरुका समस्या के के छन् हामीलाई भन्नुहोला हामी नगरपालिकाको तर्फवाट सक्दो सहयोग गर्नेछौ ।"
उनले सबै नगरबासीहरुलाई स्वास्थ्य बिमा तर्फ जोड्नका लागि स्वास्थ्य बिमा कार्यक्रमलाई जोड दिनुपर्ने बताइन् । यसका लागि पैसा तिर्न नसकिने अति बिपन्न परिवारलाई केही राहात हुनेगरी स्वास्थ्य शाखाले काम गर्नुपर्ने बताइन् । साथै उपप्रमुख कडायतले ग्रामिण क्षेत्रका महिलालाई स्वास्थ्य सुरक्षाका लागि बर्थिङ सेन्टर स्थापनालाई पनि जोड दिन बताइन् ।
उद्घाटन कार्यक्रममा स्वास्थ्य शाखाले गत आर्थिक वर्ष २०७७÷०७८ ले आफुहरुले गरेका काम र उपलब्धिहरु प्रस्तुत गरेको थियो । गत आर्थिक बर्षमा नगरपालिका भित्र रहेका वडा नम्बर १ को अत्तरिया, वडा नम्बर ६ को लालपुर र वडा नं ४को बुढितोलामा शहरी स्वास्थ्य क्लिनिकको भवन र हालखोलीमा ल्याब र बर्थिङ सेन्टर स्थापना गरेको गरिएको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जानकारी गराए ।
नगरपालिकाले कोरोना महामारीका बेला गोदावरी ५ गेटामा रहेको गेटा मेडिकल कलेजमा निर्माण गरेको होल्डिङ सेन्टरलाई मुख्य उपलब्धिमा राखेको छ । साथै गत आर्थिक वर्षमा मालाखेती अस्पतालमा संस्थागत क्लिनिक संचालन , कोरोना महामारीमा नियमित स्वाव संकलन र ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु गरेको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाले चालु आर्थिक बर्षका योजनाहरु पनि प्रस्तुत गरेको छ ।
जसमा गोदावरी , बहेडा , गेटा र बेलादेवीपुर स्वास्थ्य चौकीवाट सुरक्षित गर्भपतन सेवा गरिने प्रमुख अवस्थीले बताए । यस्तै चालु आर्थिक बर्षमा सबै स्वास्थ्य चौकीहरुमा अति शिघ्र कुपोषणको व्यवस्थापनका लागि ओटीसी सेन्टर सञ्चालन गर्ने , मेयर जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम र उपमेयर सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम सञ्चालन योजना रहेको उनले बताए ।
साथै नगरभित्रका निजि स्वास्थ्य संस्थासंग समन्व्य गदैै जाने पनि स्वास्थ्य शाखाले जनाएको छ ।
२ दिन सम्म संञ्चालन हुने बार्षिक समिक्षा तथा आगामी योजना तर्जुमा गोष्ठी कार्यक्रममा नगरप्रमुख साउँद , उप प्रमुख कडायत , गोदावरी नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्षहरु , स्वास्थ्य शाखा प्रमुख अबस्थी , स्वास्थ्य शाखामै कार्यरत सिनियर अहेव बिर बहादुर कुवंर र उषा भट्ट , मालाखेती अस्पतालमा मेसु डा पदम प्रकाश शर्मा र नगरभित्र बिभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।