अत्तरिया - सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी संग जोडिएको मुख्य बजार हो अत्तरिया । कैलालीको गोदावरी नगरपालिका वडा नं १ र २ मा पर्ने अत्तरिया सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लालाई जोड्ने मुख्य केन्द्र बिन्दु पनि हो । पछिल्लो समय अत्तरिया बजारमा थुप्रै नयाँ संरचनाहरु पनि बनिरहेका छन् ।
यद्धपी त्यहि अत्तरिया बजारको मुख्य चोकको भने हरि बिजोग भएको छ । अहिले मात्रै होइन बिगत लामो समयदेखी चोकको अबस्था निकै दर्दनाक रहेको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगर र चोकको मर्मतका लागि ठेक्का पाएको ठेकेदार कम्पनीको लापबाहीका कारणले नै चोकको अबस्था झन हरिबिजोग भएको आसपासका ब्यापारीहरुले बताएका छन् ।
बैशाखमै चोकको मर्मतको काम हुने बताएपनि ढिलो गरि जेठको अन्तिम सातावाट काम सुरु भएको थियो । गत आर्थिक बर्षको असार मसान्तमै मर्मतको काम सक्ने गरी बैशाखको पहिलो साता भुवन निर्माण सेवा प्राली धनगढीसंग ९० लाखमा सम्झौता भएको थियो ।
सडक मर्मतको समायबधि सकिएर १ महिना बढी भैसक्दा पनि अबस्था जस्तोको त्यस्तै रहेको छ । चोक आसपासको सडक फुटाएर कालोपत्रेका लागि पानी पिचको काम गरेपनि त्यो भन्दा बाकिँ काम अगाडी बढ्न सकेको छैन् ।
जसले गर्दा चोकको अबस्था पहिले जस्तो थियो अहिले पनि त्यस्तै रहेको अत्तरिया खानेपानीका अध्यक्ष एबम् स्थानिय टिक दत्त जोशीले बताए । उनले चोकको अबस्था हेर्दा राजधानीको मुख्य चोक भन्न पनि लाज लाग्ने अबस्था रहेको बताए । सुख्खा मौसममा झन निकै बिजोग हुने गरेको छ , चोकमा धुलो उडेर नजिकैको मान्छेहरु पनि चिनिदैनन उनले भने यसले गर्दा एकतिर सर्वसाधारणको स्वास्थ्यमा गम्भिर असर परिरहेको छ भने अर्को तिर दुर्घटनाको जोखिम सबै भन्दा बढी रहेको छ ।
उनले यस क्षेत्रवाट निर्वाचित जनप्रतिनिधिहरु संघिय सरकार देखी प्रदेशमा मन्त्रीहरु भएपनि यहाँका जनताका दुख भने कसैले नदेखेको भन्दै दुखेसो पोखे । अत्तरिया चोकको उक्त हरिबिजोगका कारण चोक बरपर रहेका ५ सय बढी ब्यापारीहरु प्रत्यक्ष रुपमा प्रभावित भएको स्थानिय ब्यापारीहरुले बताएका छन् ।
बिगत लामो समयदेखी अत्तरियाका चोकमा फेन्सी पसल संचालन गर्दै आएका लिलाराम सापकोटाले सम्बन्धित निकायलाई भन्दा भन्दा आफुहरु थाकिसकेको बताए । उनले यो समस्या आजको मात्रै नभई लामो समयदेखीको रहेपनि यहाँका स्थानिय तहका जनप्रतिनिधि देखी लिएर प्रदेश र संघमा रहेका यस क्षेत्रका ठूला नेताहरुले पनि आफ्नो क्षेत्रका दुखलाई बेवास्था गर्दै आएको गुनासो पाखे ।
"राम्रो ब्यापार होला भनेर पहिला अत्तरिया चोकमा पसल राखियो अहिले यहाँ किन पसल राखेको हो भन्ने जस्तै भएको छ" उनले भने - सानो पानी आए पसलको अगाडी ताल बन्छ भने घाम लागेको बेला धुलो उडेर निकै हैरान बनाएको छ ।"
उनले आफुले ब्याक्तिगत रुपमा मात्रै ठेकेदार कम्पनी र सडक डिभिजन कार्यालयलाई सय चोटी भन्दा बढी फोन गरेर चोक मर्मतको काम समयमै गरिदिन आग्रह गरेको बताए । उनले यही चोकको कारणले आसापासका ब्यापारीहरु बिस्थापित हुनुपर्ने अबस्था आएको बताए ।
पसल चल्दैन दिनभरी खोलेर मात्र के गर्नु , उल्टै नयाँ कपडा धुलोले गर्दा एक दुई दिनमा पुरानो जस्तो देखिदाँ ग्रहाकहरुले लिनै मान्दैनन अत्तरिया चोकमै कपडाको ब्यापार गर्दै आएका अर्का ब्यापारी पशुपति खनालले भने ।
उनले यहाँका जनप्रतिनिधि , ठेकेदार कम्पनी र सडक डिभिजन कार्यालयको गम्भिर लापरबाहीले नै यो समस्या जटिल बनेको आरोप लगाए । अत्तरिया चोकको अबस्था सुधार गरिदिन माग गर्दै अत्तरिया उधोग वाणिज्य संघ देखी लिएर बिभिन्न संघसस्था र अत्तरियााका ब्यापारीहरुले पटक पटक आवाज उठाउदै आएका थिए ।
निकै ढिलो गरि काम सुरु गरेपनि समयमै काम नहुदाँ अबस्था फेरि पुरानै रुपमा बल्झिएको हो । उता असार मसान्त भित्रमै काम सक्ने दाबी गरेको सडक डिभिजन कार्यालय महेन्द्रनगरले मौसममा आएको परिर्वतनका कारण काम प्रभावित भएको बताएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर लक्ष्मणदत्त जोशीले असार महिना भित्रै काम सक्ने गरी काम तिब्र गतिमा अगाडी बढाएको भएपनि त्यसपछि निरन्तर रुपमा भएको बर्षाले गर्दा काम गर्न नसकिएको बताएका छन् ।
उनले अत्तरिया धनगढी ६ लेन सरह नै सडकको बेश मिलाउन काम सम्पन्न भएर अब कालोपत्रे गर्ने काम मात्रै बाकिँ भएकाले अब चाडै कालोपत्रेको कामलाई अगाडी बढाइने बताए ।
"अहिले हतार हतारमै काम गरेर भोली त्यो दिगो नहुन सक्छ त्यसैले हामीले बर्षातको केही दिन पर्खिएर दिर्घकालिन रुपमा मजबुत बनाउने किसिमले काम गर्नेछौ उनले भने । "
बर्षातको बेलामा काम गर्दा कालोपत्रे दिगो नहुने बताउदै सुचना अधिकारी जोशीले मौसमले साथ दिएपछि अबको एक हप्तापछि चोक बरपरको सडक कालोपत्रेको गरिने बताए ।
बजार क्षेत्रका ढल निकासका लागि बनाइएका नालीहरुको अबस्था पनि त्यस्तै
सुदूरपश्चिमको राजधानी तोकिएको बजार क्षेत्र सफा , सुन्दर र ब्यबस्थित हुनुपर्ने भएपनि अत्तरिया बजारको सुन्दरता झन झन खस्किदो अबस्थामा रहेको छ ।
हिउँद समय होस वा बर्खा समान्य बर्षा हुदाँ पनि बजार क्षेत्र डुवानमा पर्ने गर्दछ । यसको प्रमुख कारण बजार क्षेत्रमा रहेका सडक नालीको ब्यबस्थापन नहुनु रहेको ब्यापारीहरु बताउँदछन् ।
बजार क्षेत्र आसापास निर्माण गरिएको सडक नालीको लामो समयदेखी मर्मत सम्भार नहुदा अहिले भताभुङ भएका छन् ।
सडक किनारमा बनाइएका नाला माथिका ढक्कन फुटेर टुक्रा टुक्रा भएको लामो मसय हुदा पनि सम्बन्धित निकायले मर्मतसम्भारमा ध्यान नदिदा नाली भताभुङ भएका हुन् । गर्दा एकातिर बजार क्षेत्रको सुन्दरता कुरुप बन्दै गएको छ भने अर्को तिर दुर्घटनाको जोखिम निकै बढेको छ । बजारका मुख्य सडक किनारमा रहेको नालामाथि बनाइएको ढक्कन वर्षौदेखि फुटेर ठाउँ ठाउँमा ठूल्ठूला प्वाल परेको स्थानीयको गुनासो छ ।
नालामाथि लगाएका ढक्कनहरु फुटेर जताततै फोहोर फैलिएको छ । नालीको अबस्था नाजुक हुदा पनि सम्बन्धित निकायको ध्यान जान नसक्दा ठूलो दुर्घटना हुने सक्ने सम्भावना रहेको छ ।
दिउसो त जसोतसो बच्न सकिने भएपनि रातिको समयमा सर्वसाधारण यात्रु देखी बजार क्षेत्रमा आवतजावत गर्ने साना तथा ठूला सवारी साधनहरु कति बेला नालामा खस्छन् भन्ने डर रहेको स्थानिय लिलाराम सापकोटाले बताए
अत्तरिया बसपार्क देखी मुख्य चोक शौचालय सम्मको नालीको अबस्था झनै नाजुक रहेकाले आसपासका होटल ब्यबसायीहरुले निकै हैरानी खेपिरहेको उनको भनाई छ ।