अत्तरिया - सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरियामा प्रदेशकै नमुना पार्क निर्माणको काम अलपत्र परेको छ । गोदावरी नगरपालिकाको वडा नं १ को दुर्गा मन्दिर पछाडी पार्क निर्माणका लागि विस्तुत आयोजना प्रतिवेदन (डीपीआर) समेत तयार पारिएको भएपनि भौतिक पूर्वाधार निर्माणको काम अलपत्र परेको हो ।
आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ सुविधा सम्पन्न र प्रदेशकै नमुना पार्क बनाउने भनेर गोदावरी नगरपालिकाले बिगतका बर्षहरुमा केहि रकम खर्च गरेर वरपर पर्खाल लगाएत अन्य केही काम समेत गरेको थियो ।
यति मात्रै होइन वनस्पति अनुसन्धान केन्द्र कैलालीले ५ लाख रुपैयाँ खर्च गरेर पार्कभित्र फुलहरु रोपेर हराभरा बनाएको थियो । तर त्यो सबै लगानी बालुवामा पानी जस्तै बन्न पुगेको छ । फुलहरु रोपेर हराभरा बनाएको ठाउँमा अहिले ठूला ठूला घासहरु उम्रिएका छन् भने बनेको प्रर्खाल पनि भत्किसकेको छ ।
सुरक्षा सामुदायिक वन भित्र पर्ने करिब १२ विघा क्षेत्रफलमा निर्माण गरिन लागेको पार्कका लागि भने करोडौ बजेट आएको भएपनि त्यो बजेट प्रयोग विहिन भएको छ । पार्क निर्माणका लागि ४ करोड ९४ लाख बजेट विनियोजन गरिएको गोदावरी नगरपालिकाका इन्जिनियर पूर्ण कुवरले जानकारी दिए । नगरपालिकाको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पार्क निर्माणका लागि उक्त बजेट विनियोजन गरेको हो ।
जसमा संघीय मन्त्रालयवाट ७० प्रतिशत अर्थात ३ करोड २२ लाख र गोदावरी नगरपालिकावाट ३० प्रतिशत अर्थात १ करोड ७२ लाख बजेट विनियोजन गरिएको इन्जिनियर कुवरले बताए । सबैको सुबिधाका लागि नमुना पार्क निर्माण गर्न विस्तुत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरि बजेट समेत बिनियोजन गरिएको भएपनि बिभिन्न कारणले भौतिक संरचनाहरु बन्न नसकेको इन्जिनियर कुवरले बताए ।
उनले यसको मुख्य समस्या भनेको जग्गा प्राप्ती नहुनु र अर्को डिपिआर अनुसारको जग्गा मास्दिै जानु रहेको बताए । कुनै पनि संरचनाहरु निर्माण गर्दा पहिला जग्गा त आफ्नो बनाउनुपञ्र्यो अहिले हामीले लगानी गछौ भोली त्यो बनले सबै भत्काएपछि त्यो लगानी गरेको काम भएन उनले भने जग्गा प्राप्तीका लागि प्रकृया अगाडी बढिरहेको छ ।
वातावरण संरक्षण गर्नुका साथ सबैलाई सहज रूपमा घुम्न , खेल्न, कसरत र मनोरञ्जन गर्न सकिने गरी पार्क भित्र संरचना निर्माण गरिने बताएका पनि अहिले सम्म कुनै काम अघि बढ्न सकेको छैन ।
यता गोदावरी नगरपालिकाका प्रबक्ता एबम् वडा नं १ का अध्यक्ष शर्मानन्द भट्टले अत्तरियामा प्रदेशकै नमुना पार्क निर्माण बनाउने भनेर संघीय मन्त्रालयवाटै बजेट छुट्याइएको भएपनि पार्क बनाइने भनिएको जमिन बनको हुदाँ समस्या भएको बताए ।
उनले आफूहरुले करिब १२ बिगाह जमिनमा पार्क बनाउने भनेपनि अहिले डिपिआर अनुसारको जग्गा चारैतिरवाट मासिदै गएका कारणले अब फेरि नयाँ डिपिआर बनाएर कामको थालनी गरिने बताएका छन् ।
पार्क निर्माणका लागि जग्गा बिषयमा नगरसभावाटै निर्णय गरेर बन मन्त्रालयमा पठाएकाले जग्गा उपलब्ध हुने बित्तिकै नयाँ डिपिआर बनाएर सोही ठाउँमा पार्क निर्माण गरिने बताए । प्रदेशको राजधानी भएसंगै अत्तरियामा बढ्दो शहरीकरणमा एउटा ब्यवस्थित पार्क सबैका लागि अनिवार्य भएपनि अहिले निर्माण गर्ने भनेको पार्क पनि अस्तव्यस्त बनेको छ ।
अत्तरियाको बजारमै रहेको यस पार्कलाई व्यवस्थित रुपमा संचालन गर्न सके अत्तरिया क्षेत्रमा घुम्न आउने पर्यटकहरुका लागि पहिलो आकर्षणको केन्द्र बन्ने देखिन्छ ।
पार्क बनाउने भन्ने ठाउँमा वनको तालिम केन्द्र बन्दै
नगरपालिकाले पार्क बनाउने भनिएको जग्गामा वनको तालिम केन्द्र बन्न लागेको छ । सामुदायिक वनको करिब १२ बिगाह जमिनमा पार्क बनाउने भनिएपनि सो जग्गामा वन तथा भू–संरक्षण विभागले हतियार सहितका सशस्त्र वन रक्षकहरु बस्नका लागि तालिम केन्द्रको भवन बनाउन लागेको हो ।
नगरपालिकाले पार्कका लागि डिपिआर गरेको जग्गामा एक्कासी तालिम केन्द्रको भवन बन्न लागेपछि थप समस्या भएको छ । नगर प्रबक्ता भट्टले आफूहरुसंग कुनै समन्ब्य नगरि तालिम केन्द्र बनाउन लागिएको बताए । सामुदायिक बनसंग समन्व्य भएको होला तर हामीसंग भएन उनले भने हामीले डिपिआर समेत बनाइसकेको थियो यसरी एक्कासी सोही जग्गामा तालिम केन्द्रको भवन बनाउदा हामीलाई समस्या भएको छ ।
यही कारणले पनि जग्गाकमी हुदाँ अब नयाँ डिपिआर गर्नुपर्ने अबस्था आएको उनको भनाई छ । करिब ६ हेक्टर जग्गामा पार्क निर्माण गर्ने भनेर डिपिआर बनाइएको भएपनि अहिले त्यसमद्ये डेढ हेक्टर तालिम केन्द्रले लिएको छ ।
सबैसंगको छलफल र सहमतीमा तालिम केन्द्र बन्न लागेको सव डिभिजन वन कार्यालयका प्रमुख शेर वहादुर भण्डारीले बताए । उनले संघिय सरकारको बजेट अन्र्तगत नै हतियार सहितका सशस्त्र वन रक्षकहरु बस्नका लागि सुदूरपश्चिमकै प्रदेश स्तरिय तालिम केन्द्र बन्न लागेको बताए । नयाँ बन्न लागेको सशस्त्र वन रक्षक तालिम केन्द्रमा २ सय बढी वन रक्षक बस्ने बताए ।
उनले पार्क बनाउनका लागि प्रसस्त जग्गा बाकिँ रहेकाले त्यसैको अगाडी पनि पार्क बनाउन सकिने बताए । नगरपालिकाले पनि डिपिआर बनाउदाँ आफुहरुसंग समन्व्य नगरेको बताउदै उनले पार्क निर्माणका लागि भने तालिम केन्द्र बनिरहेको पुर्व पट्टिको जग्गा छुट्याएका बताए ।