अत्तरिया - कैलालीको अत्तरिया आसपास वन क्षेत्र पुरै सखाप हुन थालेको छ । बिगत देखी नै अतिक्रमणको चपेटामा पर्दै आएको यहाँका सामुदायिक बनमा पछिल्लो समय झन अतिक्रमण बढेपछि वन क्षेत्र पुरै सखाप हुन थालेको हो ।
कोरोनाका कारण सबै नागरिकहरु आक्रन्त बनेका बेला विभिन्न संघ संस्थाको नामका अहिले धमाधम बनको जग्गा कब्जा गर्ने क्रम बढेको छ ।
कोरोना रोकथामका लागि जारी गरिएको निषेधाज्ञाको मौका छोपेर अत्तरियाको मुख्य बजारसंग जोडिएको गोदावरी नगरपालिका वडा नं २ मा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक बनमा धमाधम पक्की संरचनाहरु बनिरहका छन् । सामुदायिक बनका पदाधिकारी र वनका कर्मचारीहरुलाई खुल्ला चुनौती दिदैै राजमार्गको छेउमै पक्की घर बनाउदाँ भने उनीहरुलाई कसैले रोक्न सकेका छैनन् ।
उल्टै सरकारी लगानीमा उनीहरुले पिल्लर सहितका पक्की भवन ठड्याइरहेका छन् । दुर्गालक्ष्मी महिला सामुदायिक बनकी अध्यक्ष दुर्गादेवी कडायतको घर नजिकै डिके पेट्रोल पम्म नजिकै पक्की संरचना बनेपनि बनकी अध्यक्षले टुलुटुलु हेर्नु बाहेक अन्य केही काम गर्न नसकेको स्थानियहरुले आरोप लगाएका छन् ।
वन समितीका अध्यक्षकै अगाडी देखिनेगरी यसरी संरचना बनिरहेको भएपनि केही गर्न नसक्दा भित्र भित्र कति जग्गा अतिक्रमण भएको होला भनेर सोझै अनुमान लगाउन सकिन्छ ।
यो कुरा बनका अध्यक्षले मात्रै होइन वनको क्षेत्रमा काम गर्ने संघ संस्था र डिभिजन वन कार्यालयका कर्मचारीहरुलाई पनि प्रष्टसंग थाहा छ तर उनीहरु पनि मुखदर्शक जस्तै बनेर टुलुटुलु हेरेर बस्ने गरेका छन् । सालघारी नामले परिचित उक्त वन कहिले धार्मीक क्षेत्रका नाममा त कहिले स्कूल , कलेज , कहिले निजि संघसंस्थाका नाममा अतिक्रमण हुदै जादाँ विस्तारै सखाप भएर यो पनि बन थियो र भन्ने अवस्था पुग्ने स्थानियहरु बताउँदछन् ।
दुर्गालक्ष्मी महिला सामाुदायिक बनकी अध्यक्ष दुर्गा कडायतले आफूहरुले अतिक्रमण हटाउनका लागि सुचना टासँ गरेको बताइन् । उनले यो निषेधाज्ञाका बिचमा पिल्लर सहितका बनेको दुई भवनलाई संरचना नबनाउन र आफ्ना समानाहरु ह्टाउन भनेर फेरि ५ दिनको सुचना काटिएको त्यो म्याद आज सकिएको बताइन् ।
"लकडाउनको मौका छोपेर अहिले दुई वटा पक्की भवन बनिरहेका छन् हामीले पटक पटक त्यसलाई रोक्न भनेका छौ उनले भनिन - "अन्य ठाउँमा पनि वनको जग्गा अतिक्रमण गरेर तारबार गरिएको पाएपछि त्यो सबै तारबार हामीले हटाएका छौ ।" उनले सामुदयिक बनका पदाधिकारीहरुको बैठक बसेर निर्णय गर्दै बनमा भएको अतिक्रमण हटाउनमा सहयोग गरिदिन भनेर पनि अत्तरियाको डिभिजन बन कार्यालयलाई पत्र पठाएको बताइन् ।
यस्तै उनले सरकारी तबरवाट बजेट बिनियोज गरी धमाधम संरचना बनिरहेकाले वडा तथा नगरपालिकासँग जग्गाको टुङ्गो नलाग्दा सम्म वनमा संरचना बनाउन बजेट नदिन समेत लिखित रुपमै अनुरोध गरिएको बताइन् ।
सव डिभिजन कार्यालय अत्तरियाका सहायक वन अधिकृत शेर बहादुर भण्डरीले सामुदायिक बनमा बनेका संरचनाहरु हटाउनका लागि प्रकृया सुरु भैसकेको बताए ।
उनले आफुहरुको एकल प्रयासले मात्रै यो सम्भव नभएकाले डिभिजन वन कार्यालय कैलालीलाई पनि पत्राचार गरिसकेकोले बनेका संरचनाहरु र अतिक्रमणलाई छिट्टै हटाइने बताए ।
"हामी आफै बनलाई बचाऔ भन्छो संरक्षण गरौ भन्छौ तर फेरि हामी नै अतिक्रमण गर्दै वनलाई सखाप पारिहेका छौ उनले भने - "अब बजेट पनि सरकारले नै हालिदिन्छ यसमा हामी एक्लैले गरेर सम्भव हुदैन । "
उनले एक दुई ब्यक्तिले बनाएका संरचना हटाउन बिभिन्न बाधा अबरोध आउने हुदाँ संस्थागत रुपमा बनेका संरचनाहरुलाई हटाउनका लागि सबैको साथ र समर्थनको आवश्यकता पर्ने बताए ।
उनले आफूहरुसग जनशक्ति पनि नहुदाँ समस्या भएकाले जिल्लामा पत्राचार गरिएको हुदाँ जिल्लावाटै नै सबै अतिक्रमण हटाइने बताए । उता डिभिजन वन कार्यालयले अत्तरिया क्षेत्रका सामुदायिक वनको अतिक्रमण एक दुई दिनमा हटाउने बताएको छ ।