अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाको भवन निर्माणको काम निकै सुस्त गतिमा हुन थालेको छ । स्थापना काल देखी भाडाको घरमा संचालनमा रहेको नगरपालिकाले गोदावरी नगरपालिका वडा नं २ तेघरीमा आफ्नै भवन निर्माण सुरु गरेको भएपनि भवन निर्माणको काम भने निकै सुस्त गतिमा हुन थालेको हो ।
एशियाली विकास बैंकको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई मार्फत १० करोड ३८ लाख ६ हजार ८ सय १५ रुपैयाँको लागतमा नगरपालिकाको भवन निर्माण भैरहेको छ ।
भवन निर्माणको काम २० महिनामा अर्थात २०७८ साल साउन महिनामा सक्ने गरी एम÷एस शर्मा एण्ड कम्पनीसंग २०७६ साल मंसिर २ गते सम्झौता भएको थियो ।
सम्झौता भएको १८ दिनपछि मंसिर २० गते गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउँदवाट शिलन्यास भई काम सुरु भएपनि अहिले सम्म पहिलो तलाको आधा ढलानको काम मात्रै सकिएको छ । भवन निर्माणको काम सुरु भएको १८ महिना पुग्दा सम्म जम्मा ३६ प्रतिशत मात्रै काम सम्पन्न भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले जनाएको छ ।
निर्माणको अबधि सकिन २ महिना मात्रै बाकिँ रहेका बेला हाल सम्म ३६ प्रतिशत मात्रै भौतिक प्रगति भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालयका सूचना अधिकारी झंकर बहादुर थापाले जानकारी दिए । उनका अनुसार बिविध कारणले भवन निर्माणको काम प्रभावित भएको हुदाँ तोकिएको समयमा काम सम्पन्न हुने सम्भावना न्यून रहेको बताए ।
"सुरुवाती चरणदेखी नै काममा बिभिन्न कारणले बाधा अबरोध आएपछि काम सुस्त भयो उनले भने - " सबै भन्दा बढी त कोरोना महामारी र त्यसपछि देशभर लागू भएको निषेधाज्ञा कारण कामले गति लिन पाएन , यस्तो अबस्थामा हामीले पटक पटक निर्माण कम्पनीसंग समन्ब्य गरिरहका थियो , कहिले समाना नपाइने कहिले काम गर्ने मजदुरहरु नपाइने त्यही कारणले समस्या भएको हो ।"
अहिले भने कामलाई तिब्रता दिइएको उनको भनाई छ । निर्माण अबधि सकिन अझै दुई महिना बाकिँ रहेकाले अहिले नै कति समय म्याद थप गर्ने भन्ने बिषयमा कुराकानी नभएको बताउदै सूचना अधिकारी थापाले केही महिना म्याद थपेर काम पूर्ण रुपमा सम्पन्न गर्ने बताएका छन् ।
तोकिएको समयमै काम सक्ने गरि भवन निर्माणको कामलाई तिब्रता दिएपनि सुरुमा जगको खाल्डो खन्ने बेलामा जमिन मुनिवाट निरन्तर पानी आएपछि समस्या भएको निर्माण कम्पनीले जनाएको छ ।
सुरुवात देखी नै सुस्त गतिमा काम भएकाले तोकिएको समयमै काम सम्पन्न नहुने देखिएको छ । भवन निर्माणको सुरुवाती चरणमा खाल्डो खन्ने काममै सम्झौताको ३ महिना भन्दा बढी समय लागेको थियो । सुदुरपश्चिम प्रदेशका चार बटा स्थानिय तहमा काम गरिरहेको क्षेत्रीय सहरी विकास आयोजनाले सुरुमा चार तलाको भवन बन्ने भनिए पनि अहिले भने २ तलाका मात्रै भवन निर्माण गरिन लागेको बताएको छ ।
गोदावरी नगरपालिका वडा नं २ तेघरी ब्यारेक नजिकै नगरपालिकाले यस अघि खरिद गरेको १५ कठ्ठा जग्गामा भवन निर्माणको काम भैरहेको छ । अहिले नगरपालिकाको कार्यालय र वडा कार्यालयहरु भाडाको घरमा संचालनमा रहेको छ ।
नगरप्रमुख हरिसिंह साउँदले आईतवार निर्माणाधिन भवनको अवलोकन गर्दै भौतिक प्रगति बारे बुझेका थिए । उनले नगरपालिका भवनको निर्माण कार्य तोकिएकै समय भित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।