अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा आज देखि कोरोना बिरुद्धको खोप लगाउन सुरु गरिएको छ । चीन सरकारवाट नेपाललाई अनुदानमा प्राप्त भएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप आज देखी जेष्ठ नागरिकसंगै प्रथमिकतामा परेकाहरुलाई लगाउन सुरु गरेको नगरपालिकाले जनाएको छ ।
उक्त खोप कोरोना खोप ६० देखि ६४ बर्ष उमेर समुहका जेष्ठ नागरिक, पहिले खोप नपाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, बैंकका कर्मचारीहरूलाई लगाइदै छ । खोप आज देखी २७ गते सम्म ३ दिन लगाइने छ ।
खोप लगाउनका लागि नगरपलिकाले ३ ओटा केन्द्र तोकेको छ । गोदावरी ३ मा रहेको मालाखेती अस्पताल , गोदावरी ११ मा ओलानीमा रहेको गोदावरी स्वास्थ्य चौकी र गोदावरी ५ मा रहेको गेटा स्वास्थ्य चौकीमा गएर खोप लगाउन सकिनेछ ।
गोदावरी नगरपािलका ३ मा रहेको नवज्योति स्कूलमा खोप लगाउनेहरुको निकै भिड लागेको छ । मालाखेती अस्पताल नजिकै रहेको उक्त बिधालयमा धेरै जसो जेष्ठ नागरिकहरु खोप लगाउनका लागि पुगेका छन् ।
उनीहरुले आफुहरुलाई खोप लगाउन सहज नभएको गुनासो गरेका छन् । खोप लगाउनका लागि लाईनमा उभिएका एक जना बृद्धले भने हामी बिहानदेखी खोप लगाउन भनेर लाईनमा लागेका छौ तर यहाँ कुनै सिस्टम छैन , हामी लाईनमा लागिरहेका छौ बाहिरवाट को को आउँछन् खोप लगाउछन् जान्छन् ।
उनले खोप लगाउनका लागि कुनै सिस्टम नहुदाँ कोरोना निको हुने भन्ने आशामा पुगेका आफूहरु यतैवाट उल्टै घरमा कोरोना लगेर जान्छौ कि भन्ने चिन्ता लागिरहेको बताए ।
उनले आफुहरुलाई खोप लगाउने सहज वातावरण बनाइदिन आग्रह गरेका छन् । खोप लगाउनका लागि अहिले बृद्धबृद्धासंगै टन्टलापुर घाममा लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, लगाएत सहभागी रहेको छन् ।