धनगढी - सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा बिहीबार बेलुका पौने ७ बजे बिस्फोट भएको वस्तु बम नै भएको प्रहरीले पुष्टि गरेको छ । सुरुमा सिलिण्डर पड्कीएको बताईए पनि घटनाको अनुसन्धानका गर्दै जादा सिलिण्डर नभएर बम भएको जिल्ला प्रहरी कार्यालय कैलालीले पुष्टि गरेको हो ।
उक्त बम बिस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । धनगढी स्थित सहिद गेट नजिकै रहेको निलम होटलमा भएको बम बिस्फोटमा परी गम्भिर घाईते भएका बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–१४ का रामबहादुर सिंहको मृत्यु भएको हो । उनको धनगढीकै माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । बिस्फोट भएपछि छर्राले गर्दा उनको शरीरको ढाड, खुट्टाको मासुु पुरै बाहिर निस्किएको थियो । घटनामा परी गम्भिर घाईते सिंहका उपचारको क्रममै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।
घटनामा परी ४ जना घाईते रहेको छन् । अन्य घाईतेमा होटल सञ्चालक केशवराज पाण्डे, कञ्चनपुरको बेलडाँडी घर भएका लक्ष्मण सेरेला, धनगढी उपमहानगरपालिका ४ का स्थानीय एंव अण्डा तथा कुखुरा व्यवसायी संघ कैलाली अध्यक्ष जितेन्द्र यादव, ग्यारेज सञ्चालन गर्दै आएका भारतीय नागरिक मोविन खान रहेका छन् । उनिहरु चारै जनाको माया मेट्रो अस्पतालमै उपचार भईरहेको छ ।
उपचाररत होटल सञ्चालक केशवराज पाण्डेको शरीरको पछाडिको भागमा घाउ भएको छ । यस्तै कञ्चनपुरको बेलडाँडी घर भएका लक्ष्मण सेरेलाको शरीरको कम्मरको भागमा घाउ भएको छ भने धनगढी उपमहानगरपालिका ४ का स्थानीय एंव अण्डा तथा कुखुरा व्यवसायी संघ कैलाली अध्यक्ष जितेन्द्र यादवको शरीरका विभिन्न भागमा चोट तथा घाउ देखिएको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए । यसैगरी धनगढीमा टे«क्टर ग्यारेज सञ्चालन गर्दै आएका भारतीय नागरिक मोविन खानको पनि शरीरको विभिन्न भागमा चोट तथा घाउ देखिएको जनाइएको छ । घाइतेहरुको अवस्था खतरामुक्त अवस्था रहेको जनाइएको छ ।
प्रहरीले घटना स्थलबाट एक थान पेस्टोल र एक थान से ७ प ३१४४ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ । त्यस्तै, बम विस्फोटले होटलको भित्तामा क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहको संलग्नता रहेको आशंका गरेको छ । मृतक रामबहादुर सिंहले टिफिन बक्समा फिट गरेको बम झोला राखेर पिठ्युमा बोकेको प्रहरीको आशंका छ । त्यस्तै, घाइते मध्येका लक्ष्मण सेरेलाको पनि घटनामा संलग्न हुन सक्ने प्रहरीको आशंका छ ।
उनीहरु मोटरसाइकलमा आएको र खाजा खान होटलमा बसेका थिए । तर उता यता शंकाको घेरामा रहेको विप्लव समूहले यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेको छ । नेकपा कैलालीका जिल्ला सेक्रेटरी प्रकाश मल्लले कैलाली विष्फोटको घटनामा नेकपाको कुनै संलग्नता नरहेको दाबी गरे ।
विस्फोट गराउने नीति आफ्नो पार्टीको नभएको पनि उनले बताए । घटनापछि धनगढीको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।