अत्तरिया - कैलालीको गोदावरी नगरपालिका भित्रका बिधालयहरु बन्द गर्ने बिषयमा कुनै निर्णय नभएको नगरपालिकाले जनाएको छ ।
आज बिहान गोदावरी न्युजसंग कुराकानी गर्दै गोदावरी नगरपालिका शिक्षा शाखा प्रमुख बसन्त कुमार खत्रीले अत्तरिया सहित नगरपालिका भित्र रहेको बिधालयहरु बन्द गर्ने कि खुल्ला नै राख्ने भन्ने बिषयमा तत्काल कुनै निर्णय हुन नसकेको बताए ।
स्वास्थ्य तथा जसंख्या मन्त्रालयले कैलाली जिल्ला सहित देशभरका विभिन्न १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लामा विद्यालय नजान आग्रह गरेको छ ।
मन्त्रालयले बालबालिकाहरुमा कोरोना संक्रमणको जोखिम बढी रहेकोले यी जिल्लामा विद्यालयमा नगइदिन आग्रह गरेको हो ।
यद्धपी अहिले अत्तरिया क्षेत्र सहित नगर भित्रका बिधालयहरु पुर्ण रुपमा संचालनमा रहेका छन् । बिधालय बन्द गर्ने बिषयमा सम्पूर्ण सरोकारबाला बिचमा छलफल हुन बाकिँ रहेको शिक्षा शाखा प्रमुख बसन्त कुमार खत्रीले बताए ।
उनले यस बिषयमा छलफलका लागि भोली पर्सी सम्पूर्ण सरोकारबालालाई बोलाएकाले सबैको राय , सुझाव र सल्लाह अनुसार निर्णय गरिने बताएका छन् ।
शिक्षा मन्त्रालयले कोरोनाको अति प्रभावित कैलाली सहित १४ जिल्ला तथा शहरमा विद्यालय बन्द वा खोल्ने निर्णय लिने जिम्मा स्थानीय तहलाई नै दिएको छ ।
विद्यालय बन्द गर्ने कि खोल्ने भन्ने निर्णय जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)सँगको समन्वयमा स्थानीय तहले गर्न सक्ने मन्त्रालयले जारी गरेको विज्ञप्ति भनिएको छ ।