अत्तरिया - सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिका भित्र दिनप्रतिदिन महिलाहरु असुरक्षित बन्दै गएका छन् । प्रदेशको राजधानीमै सुरक्षा ब्यबस्था नहुदा दिनप्रतिदिन महिलाहरु असुरक्षित बन्दै गएका हुन् ।
प्रहरी प्रशासनको उदासिनताले नगरपालिका भित्र महिलाहरु एक्लै ढुक्क भएर हिड्ने अबस्था रहेको नगरबासीहरुले गुनासो गरेका छन् । सर्वसाधारणको सुरक्षाका लागि भन्दै ईलाका प्रहरी कार्यालय मालाखेतीले ठाउँ ठाउँमा प्रहरी बिटहरु स्थापना गरेपनि प्रहरीकै बिट नजिक महिलाहरु माथि हातपात र बलत्कारको प्रयासहरु भएका छन् ।
शनिबार मात्रै गोदावरी नगरपालिका –४ खैरानामा अत्तरिया बजार तर्फ आउदै गरेकी एक महिला माथि बलात्कारको प्रयास भएको थियो । गएको असोजमा खैरानामा स्थापना गरिएको प्रहरीको अस्थायी बिट नजिकै जंगल भित्रको बाटोमा उनीमाथि बलात्कारको प्रयास भएको हो ।
यद्धपी ति महिला जसरी तसरी आफ्नो ज्यान जोगाउदै त्यहाँवाट बच्न सफल भइन् । यसैको ठिक एक महिला अगाडी गोदावरी नगरपालिका भित्रै एक महिलामाथि हातपात र कुटपिट भएको थियो । बजारवाट घर जादै गरेकी ति महिलालाई गाउँघरमै मोटरसाईकलमा आएका २ जना अपरिचित ब्यक्तिहरुले हातपात र कुटपिट गरेर फरार भएका छन् । तर घटनामा संलग्नलाई प्रहरीले अहिले सम्म पहिचान गरी पक्राउ गर्न सकेको छैन ।
पिडित परिवारले बारम्बार हार गुहार गर्दा पनि एक महिना सम्म प्रहरी सानो क्लु समेत फेला पार्न नसकेको हो । महिलामाथि हुने हत्या , हिसां र जबरजस्ती करणी नियन्त्रण तथा उनीहरुको सुरक्षाका लागि गोदावरी नगरपालिकाले पनि खासै कदम नचालेको नगरबासीहरु बताउदछन् ।
सुरुमा घटना घट्न नदिन प्रहरीले जिम्मेवार बन्नुपर्नेमा घटना घटिसकेपनि प्रहरीको लापरबाही र उदासिनताले न्याय पाउन नसकेको पिडित परिवारले गुनासो पोखेका छन् । घटना घटेको एक एक महिना पुगिसकेको छ तर प्रहरीले हामी गर्दैछौ , हुदैछ भन्ने बाहेक अरु केही नगरेको उनीहरुको गुनासो छ ।
पटक पटक ईलाका प्रहरी कार्यालय मालाखेती र जिल्ला प्रहरी कार्यालय कैलालीमा धाउदा समेत घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेको पिडित महिलाले बताइन् ।
'हामी यति दिन प्रहरी कार्यालय धाइसक्यौ तर प्रहरीले यस्तो जघन्य अपराधमा संलग्नलाई अहिले सम्म पक्राउ गर्नु त परै जावस पहिचान समेत गर्न सकेको छैन' उनले भनिन् - 'अझ प्रहरीको बेइजत गर्ने गरी प्रहरी पोशाक आएकाहरुलाई समेत प्रहरी प्रशासनले गम्भिर भएर हेरेको छैन ।'
यसले गर्दा समाजमा अन्य महिला दिदिबहिनीहरु पनि झन असुरक्षित बन्दै गएको उनको भनाई छ । यसरी दिनप्रतिदिन बढ्दै गएका महिला माथिका घटनाले समाजमा झन डर र त्रास फैलिएको गोदावरी १० का महिलाहरुले बताएका छन् । गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले यस तर्फ आफ्नो ध्यानाकर्षण भएको बताइन् ।
उनले आफु न्यायिक समितको संयोजक समेत भएकाले दुवै घटनाको बारेमा बुझेको यसका लागि पिडित पक्षसंग आवश्यक सम्बन्यको काम भैरहेको बताइन् । उनले यस्ता प्रकारका घटनाहरु हुन नदिनका लागि प्रहरी प्रशासनसंग बसेर छलफल गरिने बताइन् ।
उता ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी प्रेम बहादुर शाहीले महिला माथि भएको घटनामा संलग्न एक जनालाई पक्राउ गरिसकेको बताए ।
यद्धपी अर्को घटनामा भने कुनै पहिचान नखुल्दा अहिले सम्म पक्राउ गर्न नसकिएको बताए । घटनाको अनुसन्धना जारी राखेको उनको भनाई छ । उनले पछिल्लो समय गाउँ गाउँमा प्रहरीको मोटरसाईकल सहितको गस्तीहरु बढाएर आफुहरुले काम गरिरहेको बताएका छन् ।