अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ४ खैराना पुल नजिकै रहेको प्रहरी बिटमा प्रहरी बस्न थालेको छ । प्रहरी बिट त बन्यो तर प्रहरी बस्दैनन भन्ने शिर्षकमा गोदावरी एफ एम र गोदावरी न्युजमा समाचार आएपछि आजदेखी बिटमा प्रहरी बस्न थालेको हो ।
गोदावरी नगरपालिका र स्थानियको जनश्रमदानमा निर्माण गरिएको उक्त बिट यसै बर्ष गएको असोजमा उद्घाटन गरिएको प्रहरी बिटमा यस अघि प्रहरी नबस्दा दैनिक जसो ताला मात्रै लगाएर छोड्ने गरिएको थियो ।
सुरक्षाका दृष्ट्रिकोणले अत्यन्तै संम्बेदनशिल मानिएको उक्त क्षेत्रमा प्रहरीको सकिृयता बढाउन ईलाका प्रहरी कार्यालय मालाखेतीले प्रहरी बिट स्थापना गरेपनि बिटमा प्रहरी नबस्ने गरेको गुनोसो गरेपछि गोदावरी एफ एम र गोदावरी न्युजले समाचार प्रकाशन एबम् प्रशारण गरेको थियो ।
राति होस वा दिनमा एक्लै हिड्न डर लाग्ने खैरानामा २४ घण्टा प्रहरीको उपस्थिती रहने भन्दै स्थापना गरिएको प्रहरी बिटमा प्रहरी नै नभएपछि प्रहरी बिटको के काम भन्दै स्थानियहरु आक्रोशित बनेका थिए । आजवाट भने दिउँसोको समयमा एक जना प्रहरीलाई बिटमा राख्न थालिएको छ ।
तर बिटमा अझै पनि एक जना प्रहरीले मात्रै प्रयाप्त नहुने स्थानिय गोपाल जोशीले बताए । उनले समाचार आएपछि बिटमा लागेको ताला त खुल्यो तर एक जना प्रहरी त्यो पनि दिनमा मात्रै बस्ने हुदाँ डर र त्रास भने कायमै रहेको बताए । उनले दिनमा भन्दा पनि सझाँ , बिहान र राति गरी २४ सै घण्टा प्रहरीको उपस्थिती रहने गरी प्रहरीको एक टिमनै बस्नुपर्ने बताए ।
यता ईलाका प्रहरी कार्यालय मालाखेतीले भने आवश्यक जनशक्ति अभाव हुदाँ समस्या भएको बताएको छ । अत्तरिया बजारमा र श्रीपुरमा प्रहरी चौकी भएपनि बिच रहेको खैराना जंगल क्षेत्रमा प्रहरीको सकिृयता खासै नहुँदा त्याहाँ बर्षेनी बिभिन्न खाले घटनाहरु हुदै आएका छन् ।
सो ठाँउमा शान्ति सुरक्षा मजबुत बनाइराख्न बिगतदेखी नै खैरानाबासीले प्रहरी पोष्ट स्थापना गर्न माग राख्दै आएका थिए । प्रहरी बिट बनाएर मात्र नभई आवश्यक जनशक्ति सहित २४ घण्टा प्रहरीको उपस्थिती रहने गरी ब्यबस्था मिलाउनुपर्ने स्थानियहरुको माग छ ।