अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ मा रहेको जिवनज्योती महिला विकास बहुउद्देश्यिय सहकारी संस्थाको १७ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस बर्ष सबै शेयर सदस्यहरुलाई एकै ठाउँमा भेला नगरि चरमबद्ध रुपमा पुस ३ गतेदेखी सुरु भएको साधारण सभा आज संस्थाको प्रगणमा औपचारिक रुपमा सम्पन्न भएको हो ।
संस्थाकी अध्यक्ष सुमित्रा सोवको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सांसद चुनकुमारी चौधरी प्रमुख अतिथि रहनुभएको थियो । यस्तै कार्यक्रममा विशिष्ठ अतिथिमा गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत रहेकी थिईन । संस्थाले एक बर्षकै अबधिमा ११ करोड भन्दा बढीको कारोबार गरेको छ ।
संस्थाको प्रगती तथा भावी योजनाको बारेमा जानकारी दिदै संस्थाकी अध्यक्ष सुमित्रा सोवले आर्थिक वर्ष २०७६ र ०७७ को असार मसान्त सम्म जम्मा ११ करोड १० लाख ९० हजार ७ सय १ रुपैयाको आर्थिक कारोबार गरेको जानकारी दिइन् ।
महिला मात्रै शेयर सदस्य बन्न पाउने र महिलाहरुले संचालन गर्ने गरि २०५९ सालमा २५ जना महिलाहरुवाट संकलन गरिएको १ लाख शेयर पुँजिबाट सुरु भएको सहकारीमा आर्थिका वर्ष २०७६ र ०७७ को असार मसान्तसम्म २ हजार २ सय ३९ जना शेयर सदस्य रहेका छन भने १ करोड ३८ लाख ६२ हजार ८ सय रुपैया शेयरपुँजी रहेको उनले बताइन् ।
कोरोना महामारीले गर्दा सबै क्षेत्र ठप्प भएका बेला पनि धेरै राम्रो प्रगती गरेको अध्यक्ष सोवले बताइन् । उनले कोरोनाका कहरका बिच सहकारीले ४२ लाख ७७ हजार २ सय ३८ रुपैया खुद नाफा आर्जन गर्न सफल भएको बताइन् ।
हाल १ हजार ८ सय ३९ शेयर सदस्य रहेकोमा आगामी ३ बर्षमा २ हजार ८ सय पुञ्याइने , हालको शेयर पुजीलाई बृद्धि गरी ४ करोड ४२ लाख पुञ्याइने , दैनिक बचत कर्ता ८ सय ५० वाट बृद्धि गरी १ हजार ४ सय ७० पुञ्याइने , कम्तिमा १५ सय ४० जना सदस्यहरुलाई २१ करोड २१ लाख पुञ्याइने , आगमी ३ बर्षमा १७ सय जना ऐच्छिक बचतकर्ता पुञ्याइने र सहकारीको घरमा तला थप तथा मर्मत संभार कार्य गर्ने संस्थाको लक्ष्य रहेको संस्थाकी ब्यबस्थापक क्षेत्रा साउँदले बताइन् । संस्थामा आबद्ध भएका न्युन आयस्तर भएका महिलाहरुको जिवनस्तर माथि उकास्न उनीहरुलाई बिभिन्न सिपमुलक तालिमहरु प्रदान गर्दै आएको उनले बताइन् ।
उनीहरुले सिकेको सिपलाई ब्यबहारिक रुपमा लागु गरी सदस्यहरुले उत्पादन गरेका बस्तुहरुलाई सहकारीले अत्तरिया बजारमा सहकारी उपभोक्ता पसल सञ्चालन गरि बजारमा बेच्ने समेत गरेको उनको भनाई छ । यस्तै सहकारीले सदस्यहरुको जिवनमा परिवर्तन ल्याउने सहकारी सचेतना तालीमहरु ल्याउने, संस्थामा आवद्ध सदस्यहरुको आर्थिक स्तरमा बृद्धि ल्याउने, होजियारी कारखाना खोली तयारी सामान उत्पादन र बिक्रि गर्ने लगायतका महत्वपुर्ण योजनाहरु अगाडी बढाएको छ ।
कार्यक्रमा बोल्दै प्रमुख अतिथी चुनकुमारी चौधरीले सहकारीको माध्यामवाट महिलाहरुको जिवनस्तरमा धेरै परिर्वतन ल्याएको बताइन् । सांसद चौधरीले महिलाहरुलाई हरेक कुरामा सक्षम बनाउन सहकारीहरुको अतुनिय योगदान रहेको बताईन ।
उनले महिलाहरुद्धारा सञ्चालित जिवन ज्योतीले महिलाहरुको क्षमता माथी प्रश्न उठाउनेहरुको मुख बन्द गरिदिएको बताईन । यस्तै कार्यक्रममा बिशिष्ट आतिथी रहेकी उप प्रमुख रत्ना कडायतले महिलाको हितका लागि जिवनज्योती महिला विकास बहुउद्देश्यिय सहकारीले खेलेको भूमिकाको प्रशंसा गरे । उनले यो सहकारी गोदावरी नगरपालिकाको संगै देशभरकै नमुना नगरपालिका बनोस भन्दै शुभकामना दिइन् ।
समापन कार्यक्रममा संस्थाको वार्षिक प्रगती प्रतिवेदन संस्थाकी अध्यक्ष सुमित्रा सोवले, आर्थिक प्रतिवेदन संस्थाकी सह–व्यवस्थापक बिन्दु शाहीले, आन्तरिक लेखा परिक्षण प्रतिवेदन संस्थाकी लेखा समिति संयोजक सविना तामाङ्गले र वार्षिक कार्यक्रम तथा बजेट संस्थाकी कोषाध्यक्ष पार्वती बुढाथोकीले प्रस्तुत गरेकी थिईन ।
कार्यक्रममा वडा नं. २ की वडासदस्य संगिता बि.क, वडा नं. १० की वडासदस्य ईश्वरा रावल, गोदावरी नगरपालिका महिला शाखा प्रमुख गोदावरी धामी, सहकारी शाखा प्रमुख दिव्यराज जोशी लगायतको सहभागीता रहेको थियो । संस्थाकी उपाध्यक्ष लिलावती सिँहले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक क्षेत्रा साउँदले गरेकी थिईन ।