अत्तरिया - विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका कारण धेरै बिधार्थीहरुको पढाई प्रभावित भएको छ । झण्डै ८ महिनादेखी बन्द अबस्थामा रहेको बिधालयहरु बिस्तारै खुलेपनि क्याम्पसहरु भने अझै संचालनमा आएका छैनन् । यस बर्ष कोरोनाले गर्दा एसईई , कक्षा ११ र १२ तथा स्नातक तहको परीक्षा पनि प्रभावित बनेको छ ।
जोखिमकै बिच जेनतेन गरेर भरखरै कक्षा ११ र १२ को परीक्षा सम्पन्न भएको छ । यसैमा त्रिभुवन बिश्वबिधालयले पनि स्नातक तह चौथो बर्षको यही मंसिर २८ सुरु हुने परीक्षा तालिका सार्वजनिक गरेको छ । बिधार्थीहरुले नजिक पाइक पर्ने बिधालयमा परीक्षा दिन ब्यबस्था गरेको बताएको त्रिभुवन बिश्वबिधालयले कोरोनाकै बिच अत्तरियाको परीक्षा केन्द्र भने गुलरियामा सारेको छ ।
बिगतका बर्षदेखी दुर्गालक्ष्मी क्याम्पस बहुमुखी क्याम्पसमा नै परीक्षा केन्द्र तोकेर परीक्षा संचालन हुदै आएकोमा यस बर्ष कोरोना महामारीकै बेला गुलरीयाको कन्चन बहुमुखी क्याम्पसमा परीक्षा केन्द्र सारिएको हो । कोरोनाले गर्दा परीक्षामा सहभागि हुन समेत कठिन भैरहेका बेला घर नजिकैको परीक्षा केन्द्रलाई सारेर झन टाढा लगेको भन्दै बिधार्थीहरु भने आक्रोशित बनेका छन् । यसै क्रममा उनीहरुले सुदूरपश्चिम क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय अत्तरियाको कार्यालयमा तालबन्दी गरेका छन् ।
दुर्गालक्ष्मी बहुमुखि क्याम्पसमा बिबिएसमा अध्यनरत विद्यार्थीले पटक पटक परीक्षा नियन्त्रण कार्यालयलाई यस बर्ष परीक्षा केन्द्र नसार्न आग्रह गर्दा पनि बिधार्थीहरुको पिरमर्कालाई नबुझेर जबरजस्ती परीक्षा केन्द्र सारिएको भन्दै तालाबन्दी गरेको बताएका छन् ।
आफुहरुले हिजो दिनभरी आग्रह गर्दा पनि त्यसलाई बेवास्ता गर्दै आज आएर एक्कासी परीक्षा केन्द्र सारिएको निर्णय गरेको भन्दै आफुहरुले परीक्षा नै बाहिष्कार गर्ने चेताबनी सहित कार्यालयमा तालाबन्दी गरेको दुर्गालक्ष्मी क्याम्पसमा बिबिएस चौथो बर्षमा अध्यनरत बिधार्थी सुदिर बलायरले बताए ।
उनले भने 'त्रिभुवन विश्वबिद्यालयको यो सरासर गलत निर्णय हो । सरकारले कोरोना महामारीको समयमा सम्बन्धित विद्यालयमा परीक्षा संचालन गर्न भने पनि एक्कसी परीक्षा गुलरीयामा सारीदा हामीहरुमा झन मानसिक समस्या बढ्न थालेको छ ।'
यस्तै अर्का विद्यार्थी सिद्ध बोहराले कोरोना महामारीमा घर नजिकैको परिक्षा केन्द्र हुँदा हुँदै कन्चनपुरमा रहेको विद्यालयमा परिक्षा सारिदा आफूहरुले तालाबन्दी गर्नुपरेको बताए । उनले क्षेत्रीय परिक्षा नियन्त्रण कार्यालयले नै आफूहरुको परीक्षा गुलरियामा सारेकाले कार्यालय प्रमुख र कार्यालयको मुल गेटमा तालाबन्दी गरेको बताए । कोरोना महामारीले बिद्यालय जानै समस्या भईरहेका बेला घर दैलोकै बिद्यालयको परीक्षा जिल्ला बाहीर सारीदा आफूहरु समस्यामा परेको अर्का बिधार्थी विद्यार्थी राज भट्टले बताए ।
'हामीलाई परीक्षा जाहाँ भएपनि आपत्ती छैन तर यो बर्ष कोरोनाका बेला जेनतेन गरेरे परीक्षा दिनुपर्ने बेलामा उल्टी केन्द्रलाई टाढा पुगाएपछि झन मानसिक तानाब भएको छ' - उनले भने । उनले परीक्षा केन्द्र दुर्गालक्ष्मीलाई नै नतोकिए सम्म तालाबन्दी जारी रहने थप बिरोधका कार्यक्रमहरु गरिने बताए । यता क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय अत्तरियाका प्रमुख सह परीक्षा नियन्त्रक ईश्वरी दत्त पन्तले यस बिषयमा आफुलाई कुनै जानकारी नभएको बताए ।
उनले त्रिभुवन विश्वबिद्यालयको परीक्षा बोर्डले नै केन्द्र सार्ने निर्णय अनुसार केन्द्र सारिएको बताए । दुर्गालक्ष्मी बहुमुखी क्याम्पस हाल सुदूरपश्चिम विद्याविद्यालय अन्तरगत गईसकेकाले त्रिभुवन विश्वविद्यालयले आफ्नो मातहतमा रहेको गुलरीयाको कन्चन बहुमुखी क्याम्पसका परीक्षा सारेको उनको भनाई छ ।
दुर्गालक्ष्मी बहुमुखी क्याम्पस हाल सुदूरपश्चिम विद्याविद्यालय अन्तरगत गएपनि हाल परीक्षा संचालन भईरहेका स्नातक चौथो संकायका बिधार्थीहरु भने त्रिभुवन विश्वविद्यालयकै हुन् ।