अत्तरिया - यतिबेला लैगिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेको छ । बर्षेनी लैगिक हिंसा बिरुद्धको अभियान संचालन हुने गरेको भएपनि अहिले पनि महिला माथि हुने हिंसा र बिभेदले अझै हाम्रो समाजमा जरो गाडेर बसेको छ । धर्म र परम्पराले महिलालाई सार्वजनिक जिम्मेवारीभन्दा पनि आन्तरिक व्यवस्थापनको जिम्मेवारी सुम्पदै आएकोले अधिकांश महिलाहरु घरभित्रको चुलोचौकोमै सीमित हुने गरेका छन् ।
महिलाले सम्पत्तिको अधिकार नपाउने, घर वाहिर गएर सामाजिक – शैक्षिक गतिविधिमा भाग लिन नपाउने , कुनै पनि कामका लागि एकल निर्णयले नभई पारिवारको स्वीकृति लिनुपर्ने लगाएतका परम्परागत सोचका कारण महिलाहरु आफूभित्र रहेको संभावना र क्षमताको उपयोग गर्नमा पछि पर्दै आएका छन् । समाज एकासौ शताब्दीमा प्रवेश गर्दा पनि महिला र पुरुष बिच हुने बिभेद भने अझै कायमै रहेको छ ।
समाज भित्र जरो गाडेर बसेको पुराना चालचलन , रितिरिवाज र अशिक्षाले गर्दा सामाजिक विभेद कायमै रहेको जानकारहरु बताउदछन् । महिलाहरुले आफ्नो विषयमा भन्दा पनि बढी जसो घर परिवारको विषयमा सोच्नुपर्ने हुदा उनीहरु पढाइवाट बञ्चित हुदै आएका छन् ।
गोदावरी १२ की कक्षा ६ मा पढ्दै गरेकी बालिका रितिकाले आफु बिधालयमा भर्ना भए पनि घरको कामले महिनाको एक दुई दिन मात्र जाने गरेको बताइन् । उनले आफु घरकी जेठि छोरी भएकाले घरको सबै काम गर्नमै ठिक्क हुदा बिधालय जाने समय नै नपाउने गरेको बताइन् ।
"घास दाउरा ल्याउने , खाना पकाउने , गाई गोरुलाई चराउनुपर्ने , भाईलाई स्कूल पठाउनुपर्ने लगाएत घरमा सबै काम मैले गर्नुपर्छ उनले भनिने - अनि आफुलाई स्कूल गएर पढ्ने समयनै मिल्दैन , कसरी पढ्नु कसरी परीक्षामा पास हुनु । उनले घरायसी कामले गर्दा पढाईमा खासै ध्यान जान नसकेको बताइन् ।"
छोरालाई पढाई लेखाई ठूलो बनाए भबिष्यमा आफ्नो सहयोगी बन्ने र छोरी भने अर्काको घर जाने भन्र्दै अझै धेरै अभिभावकहरुले परम्परागत सोचलाई बदल्न नसक्दा माहिलामाथि कामको बोझ मात्रै थप्ने गर्दछन् । छोरालाई महङ्गो र राम्रो निजी विद्यालयमा पढाउने र छोरीलाई अर्काको घर जाने हो भन्दै काम काट्ने हिसाबले सामुदायिक विद्यालयमा पढाउने अभिभावक अझै पनि हाम्रै गाउघरमा रहेका छन् ।
गोदावरी नगरपालिकामा शैक्षिक सत्र २०७६ मा जम्मा विद्यार्थीको संख्या २५ हजार ४ सय ५२ रहेको छ । जसमा केटा विद्यार्थी १२ हजार ६ सय ३९ र केटी विद्यार्थी १२ हजार ८ सय १३ रहेका छन् । जसमा सामुदायिक विद्यालयमा ८ हजार ५ सय ८९ केटा विद्यार्थी छन भने ९ हजार ८ सय २५ केटी विद्यार्थी रहेको छन् । तर निजि विद्यालयमा भने केटी विद्यार्थी भन्दा केटा बिधार्थीहरुको संख्या धेरै छ ।
निजि बिधालयमा जम्मा ७ हजार ९ सय ३८ बिधार्थी रहेकोमा केटा बिधार्थी ४ हजार ९ सय ५० छ भने केटी बिधार्थी यसैको ठिक आधा २ हजार ९ सय ८८ जना रहेका छन् । सामुदायिक विद्यालयमा केटी विद्यार्थीको संख्या धेरै र निजी विद्यालयमा केटा बिधार्थीको संख्या बढी रहेको हुदा यसले पनि महिला र पुरुष बिच हुने बिभेदलाई प्रष्ट देखाएको छ ।
पहिला भन्दा अहिले केही मात्रामा छोरा छोरी बिच गरिने बिभेदमा कमी आएपनि गाउँघरमा भने बिभेद भने कायमै रहेको गोदावरी नगरपालिका शिक्षा शाखा प्रमुख बसन्त कुमार खत्रीले बताए ।
उनले छोरालाई राम्रो निजि स्कुल र छोरीलाई सरकारी स्कुलमा पढाउदा छोरीको मनमा अनेक कुराहरु खेल्ने र बिस्तारै पढाई छोड्ने प्रवित्ति पनि बढी रहेको बताए । राम्रो बिधालयमा पढ्ने , राम्रो जागिर गर्ने र आफ्नो भबिष्य आफैले निर्माण गर्ने धेरैको महिलाहरुको इच्छा चाहान हुन्छ । तर ति इच्चा चाहानाहरु पुरा गर्नका लागि कतिपयका अभिभावकहरु नै बाधक बनिरहेका हुन्छन् ।
महिलाहरु घरायसी काममै अल्झिदा उनीहरुले आफूभित्र रहेको संभावना र क्षमताको उपयोग गर्न पाइरहेका हुदैनन । यसका लागि सर्वप्रथम त घरका अभिभावकहरु जिम्मेवार हुनुपर्ने अत्तरियामा रहेको ज्ञान ज्योति माध्यामिक बिधालयका शिक्षक जगन्नाथ भट्टले बताए । महिलाहरु पनि पुरुष भन्दा के कुरामा कम छन् यो कुरा किन हाम्रा अभिभावकहरु बुझ्दैनन , अहिले यो देशका मुख्य मुख्य जिम्मेवारीमा महिलाहरु नै रहेका छन् उनले भने यसमा पहिला त अभिभावकहरुले पुरानो सोचलाई बदल्नुपर्छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका बेला एक दुई दिन महिला हक अधिकारका आबाजहरु उठ्ने गरेको भए पनि अन्य समयमा खासै यस बिषयमा कसैको ध्यान गएको पाइदैन । महिला पुरुष बिचको अन्त्यका लागि नगरपालिकाले बेला बेलामा बिभिन्न खाले सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतले बताइन् ।
उनले नगरपालिकामा लैगिक हिंसाको अन्त्यको निति बनेपनि त्यसलाई कार्यन्ब्यन गर्न भने कठिन रहेको बताइन् । आगमी दिनहरुमा नगरपालिकाका १२ ओटै वडामा यसको कार्यक्रम गरिने र कहि कतै बिभेद भएको पाइएमा सुरुमा सम्झाई बुझाई उहाहरुलाई सचेत गराउने र त्यो पनि नमानेमा वडा र नगरपालिकावाट दिने सेवा सुबिधाहरु रोक्का गर्ने योजना समेत बनाइरहेको उप प्रमुख कडायतको भनाई छ ।
एकाइसौ सताब्धीमा आएर पनि महिला र पुरुषप्रति गरिने विभेदले महिलाहरुलाई भबिष्यमा थुप्रै चुनौतीहरुको सामाना गर्नुपर्ने हुन्छ । त्यसैले गर्दा पनि बावुआमाले छोराछोरी बिचमा बिभेद नगरि समान रुपमा घरमा व्यवहार गर्ने हो भने छोरीको पढाईमा थप टेवा पुग्ने देखिन्छ ।