गोदावरी नगरपालिकाको वडा नं. १, २, ३, र ४ मा वन अतिक्रमणको गति तीव्र बन्दै गएको छ। विभिन्न संघ–संस्थाहरू र वडाहरूले राजनीतिक आडमा सरकारी वन क्षेत्रभित्रै भवन निर्माण गर्दै आएका छन्।
वडा नम्बर १ र ४ को वडा कार्यालय बन क्षेत्रमै निर्माण भइसकेको छ भने वडा २ र ३ का कार्यालय पनि बनमै निर्माण गर्ने तयारी भइरहेको छ। यस्तै, नगरपालिकाका अधिकांश सामाजिक संघ–संस्थाहरू पनि बन अतिक्रमण गरेर स्थापना गरिएका छन्।
वन कार्यालयलाई यस्ता गतिविधिबारे जानकारी भए पनि हालसम्म कुनै प्रभावकारी कदम चाल्न सकेको छैन।
नयाँ अतिक्रमण सुरु
पछिल्ला दिनहरूमा अत्तरिया बजार नजिकैको सामुदायिक अध्ययन केन्द्र पछाडिको खुला चौरमा पनि भवन निर्माण थालिएको छ। यो चौर अत्तरिया क्षेत्रको एक मात्र ठूलो खुला स्थान हो।
स्थानीयवासीहरूका अनुसार ‘सामुदायिक भवन’ भनेर प्रचार गरिए पनि त्यहाँ धार्मिक संरचना बनाउन थालिएको छ। भवन निर्माण कार्य गोप्य रूपमा नगरपालिकाको मिलोमतोमा भइरहेको छ भन्ने आरोप स्थानीयहरूले लगाएका छन्।
३० लाख रुपैयाँको लागतमा निर्माण
भवन निर्माणका लागि नगरपालिकाबाट २५ लाख र चाहना सामुदायिक वन स्रोतबाट ५ लाख गरी कुल ३० लाख रुपैयाँ विनियोजन गरिएको छ। निर्माणको ठेक्का स्थानीय ठेकेदार धर्मराज शर्मालाई दिइएको छ।
यद्यपि चाहना बन स्रोतले उक्त संरचना बहुउद्देश्यीय हलको रुपमा निर्माण भइरहेको दाबी गर्दै आएको छ, स्थानीयहरू भने त्यसलाई मान्न तयार छैनन्।