कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको पहिलो छ महिनामा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन्। निकुञ्ज कार्यालयका अनुसार, तीमध्ये एक हजार १६० महिला र एक हजार २२८ पुरुष छन्।
निकुञ्ज सूचना अधिकारी पुरुषोत्तम बाग्लेले दिएको जानकारीअनुसार आन्तरिक पर्यटकको संख्या दुई हजार १८१ रहेको छ भने सार्क मुलुकबाट २७ महिला र ६३ पुरुष गरी ९० जनाले भ्रमण गरेका छन्। अन्य विदेशी पर्यटक ११७ जना रहेका छन्, जसमा ४८ महिला र ६९ पुरुष छन्।
सबैभन्दा बढी पर्यटक चैत महिनामा आएको कार्यालयले जनाएको छ। चैतमा ५२० पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए। त्यस्तै, कात्तिकमा ३१६, मङ्सिरमा ३८९, पुसमा ४३२, माघमा २७१ र फागुनमा ४६० जनाले भ्रमण गरेका थिए। वर्षातका कारण साउन, भदौ र असोजमा पर्यटकीय गतिविधि शून्य रहेको थियो।
गत आर्थिक वर्ष २०८०/८१ मा भने कुल ४,५७४ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। तीमध्ये १,७७० महिला र २,८०४ पुरुष थिए। सो वर्षमा ४,२९४ आन्तरिक, १३७ सार्क मुलुकका र १४३ अन्य विदेशी पर्यटक निकुञ्ज आएका थिए।
वि.सं. २०३१ मा स्थापना भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। बाघको बाक्लो घनत्व रहेको यो निकुञ्ज दुर्लभ वन्यजन्तु र चराचुरुङ्गीका लागि प्रसिद्ध छ। यहाँ विश्वको सबैभन्दा ठूलो बाह्रसिङ्गाको बथान पाइन्छ। साथै, पाटेबाघ, एक सिङ्गे गैँडा, चित्तल, कृष्णसार, घोडगधा, चितुवा लगायतका ५३ भन्दा बढी स्तनधारी वन्यजन्तु र ४४९ प्रजातिका चरा पाइन्छन्।
रानी ताललगायतका जलाशयहरूमा मगर गोही, १२ प्रजातिका घस्रने जनावर, २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा र ३५ प्रजातिका पुतली पनि पाइने जनाइएको छ। पर्यटकको आकर्षण बढ्दै गएको यस निकुञ्जमा संरक्षण र पर्यटन प्रवर्द्धन सँगसँगै अघि बढाइएको छ।