काठमाडौं - युएईलाई पराजित गर्दै जिम्बाब्वेमा हुने विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएको नेपाली टोलीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ।
प्रधानमन्त्री एवं युवा तथा खेलकुदमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै जनही ३ लाख दिने घोषणा गरेका हुन्।
बिहीबार त्रिवि खेल मैदानमा प्रधानमन्त्री प्रचण्ड आफै उपस्थित भएर खेलाडीलाई हौसला दिएका थिए।
उनले आज शुक्रबार बिहान सरकारी निवास बालुवाटार बोलाएर टोलीका प्रत्येक खेलाडीलाई सम्मानस्वरूप सरकारले ३-३ लाख रुपैयाँ दिने घोषणा गर्दै आगामी यात्राका लागि शुभकामना दिएका छन्।
हिजो भएको विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले पराजित गर्दै नेपाली टोली विश्वकप क्वालिफायरमा प्रवेश गरेको हो। अब नेपाल जिम्मबाब्बेमा हुने विश्वकप छनोट खेल्ने छ। १० टिम सहभागी टोलीमा दुई समूहका शीर्ष २ टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन्।