महेन्द्रनगर - कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले यहाँ ‘बुस्टर डोज’को पहिलो र दोस्रो मात्रा लगाइएको जानकारी दिए । “नौवटै पालिकाका स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको बुस्टर डोज लगाइयो”, उनले भने , “अहिलेसम्म चौथो खोप लगाइके फेरि पनि खोप आवश्यक भएकाले केन्द्रमा माग गरेका छौँ ।”उनले खोप उपलब्ध भए आगामी जेठ दोस्रो सातापछि पुनः खोप अभियान सञ्चालन गर्ने योजना रहेको बताए ।
यहाँ बुस्टरको पहिलो मात्रा सो अभियानका क्रममा १३ हजार सात सय ५८ जनाले मात्रै लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । कोरोनाविरुद्धको खोप आइसकेपछि हालसम्म कञ्चनपुरमा चार लाख ४५ हजार ४२ जनाले त्यसविरुद्धको खोप लगाइसकेका छन् ।
त्यसैगरी तीन लाख ६४ हजार सात सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन् भने दुई लाख १६ हजार छ सय ६७ जनाले खोपको तेस्रो मात्रा लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । “भारतबाट आउनेको गड्डाचौकी नाकामा स्वास्थ्य जाँच भइरहेको भए पनि नाकामै खोप लगाउन अभियान स्थगन छ”, खोप प्रमुख कुँवरले भने, “केन्द्रबाट नियमित खोप नआउनु र छिट्टै म्याद गुज्रिने खालका खोप आएकाले नियमित लगाउन नाकामा नसकिएको हो ।”
उनले कोरोनाको पहिलो र दोस्रो लहरका बेला गड्डाचौकी नाकामै हेल्थ डेस्क सञ्चालन गरेर कोरोना जाँच र खोप अभियान चलाइएको जानकारी दिए । यहाँ खोप अभियानका क्रममा गत चैतमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती, स्वास्थ्यकर्मी र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बुस्टर डोजका रूपमा खोप दिइएको थियो । रासस