धनगढी- धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी उपमहानगर क्षेत्रको सडकमा आज रातिबाट झिलिमिली हुने भएको छ। नेपाल विद्युत प्राधिकरणको ४० तथा धनगढी उपमहानगरपालिकाको ६० प्रतिशत लगानीमा पहिलो चरण अन्तर्गतको बत्ती जडानको काम पुरा भएको हो।
धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पहिलो चरणमा धनगढी चौराहदेखि मोहनपुर (एयरपोर्ट गेट) सम्म बढी प्रकाश दिनसक्ने आधुनिक बत्ती (हाइमास्ट लाइट) जडानको काम पुरा भएको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बताए।
‘विद्युत प्राधिकरणको लागत साझेदारीमा पहिलो चरणको बत्ती जडानको काम पुरा भइसकेको छ, आज साँझ ७ बजे सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले बत्ती उद्घाटन गर्ने कार्यक्रम तय भएकाले सो कार्यक्रममा उपस्थितिका लागि नगरवासीमा अनुरोध छ’, मेयर हमालले नगरवासीलाई निमन्त्रणा गर्दै भने।
उपमहानगरपालिकाले धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रभित्रको करीब १४ किलोमिटर सडक क्षेत्रमा आधुनिक सडक बत्ती जडानको काम अघि बढाएको थियो।
सडकमा करीब ४३२ आधुनिक बत्ती जडान गर्न धनगढी उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको मेयर हमालले बताए। धनगढी चौराहदेखि मोहनपुरसम्म आधुनिक सडक बत्ती जडानको काम पूरा भएको छ। बत्ती जडानका लागि दुई करोड ६८ लाख ६८ हजारमा ठेक्का सम्झौता भएको थियो।
२१६ पोलमा ४३२ वटा लाइट जडान गरिएको हो। स्मार्ट सडक बत्ती रात पर्दै गएपछि आफैँ बल्दै जाने र उज्यालो भएपछि आफैँ निभ्ने ‘सेन्सर’ जडान गरिएको छ।
पहिलो र दोस्रो चरणमा उपमहानगरको एकल लगानीमा बत्ती जडान गरिनेछ। दोस्रो चरणमा धनगढी उपमहानगरपालिकाले १० वटा हाइमास्ट लाइट जडान गर्नेछ भने तेस्रो चरणमा उपमहानगरकै लगानीमा भन्सारदेखि धनगढी चौराह हुँदै मोहनपुरको बाँकी क्षेत्रमा बत्ती जडान हुने मेयर हमालले जानकारी गराए।