काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने बताएका छन् ।
राष्ट्रपति पौडेलले सङ्घीय संसद् र सातै प्रदेश सभा सदस्यको सम्मानमा शनिबार राष्ट्रपति भवनमा आयोजना गरिएको चियापान समारोहमा सम्बोधन गदै यस्तो बताएका हुन् ।
राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधान प्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसाथ गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहने समेत उनले सम्बोधनका क्रममा बताए ।
उनले संविधान निर्माण गर्ने प्रक्रियामा समेत सहभागी रहेर काम गर्ने अवसर प्राप्त गरेको कारणले पनि संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति म सचेत रहने बताउदै सबैले संविधानको रक्षामा सचेत बन्नुपर्ने बताए ।