धनगढी - सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित बनेको छ । सत्ता गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत लिने कुरामा दलहरूबीच सहमति हुन नसक्दा प्रदेश सभाको बैठक अनिश्चित बनेको हो ।
प्रदेश सभाको बैठक अनिश्चित नै रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । उनले अहिलेसम्म बैठक बस्नेबारे कुनै टुङ्गो नै नलागेको बताए ।
अब बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिनुपर्ने छ । विश्वासको मतबारे सत्ता साझेदार दलहरूबीच अझै सहमति हुन सकेको छैन । सत्ता साझेदार दलको एक प्रमुख घटक नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने नदिने यकिन गरेको छैन ।
बिहीबार प्रहरीले नागरिक उन्मुक्ति पार्टीका कैलाली निर्वाचन क्षेत्र २ बाट चुनाव जितेका अरुण कुमार चौधरीलाई पक्राउ गरेपछि उन्मुक्ति पार्टी क्रुद्ध बनेको छ। उसले आफ्ना संस्थापक नेता रेशम चौधरीको रिहाई को माग गरेको छ । तर चौधरीको रिहाई गर्ने बारेमा सरकारले कुनै संकेत नदिएपछि यँहाको सरकारको बारेमा अन्यौलता कायमै छ। यता अब उसले अरुण चौधरीको रिहाईको माग पनि अघि सारेको छ । यदपी यँहाको सरकारलाई विश्वासको मत दिने नदिने बारेमा गठबन्धनका नेताहरु सँग उन्मुक्तीको शिर्ष तहमा छलफल भने जारी रहेको नेताहरुले बताएका छन् ।
५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ। माओवादीका सभामुखबाहेक १०, एमालेका १० र राप्रपाको एक गरी सत्तापक्षमा २१ मत छ। सात सिट रहेको नागरिक उन्मुक्तिले साथ दिए मात्र सत्ता पक्षको बहुमत पुग्छ । प्रदेश सभामा प्रतिपक्षमा कांग्रेसका १९, एकीकृत समाजवादीका ४ र एकजना स्वतन्त्र सांसद छन् ।
संविधानले गरेको व्यवस्था बमोजिम मुख्यमन्त्रीले नियुक्त भएको एक महिनाभित्रै विश्वासको मत लिनु पर्नेछ । पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।