धनगढी - ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा आज धनगढीमा प्रभातफेरिको आयोजना गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारद्धारा आयोजित सो प्रभातफेरि धनगढी ट्राफिक चौराहबाट सुरु भइ आन्तरिक मामिला तथा कानुन मन्त्रालय पुगेर कोणसभा गरी कार्यक्रम समापन गरिएको थियो ।
१०४ वर्षे जहाँनीया राणा शासनको अन्त्य भएको र प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा आज यो दिवस मनाइन्छ ।


प्रभातफेरिमा सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, आर्थिक मामिला मन्त्री नरेशबहादुर शाह, सभामुख भीम बहादुर भण्डारी, निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावल, प्रदेश सभा सदस्य, प्रदेश प्रमुख सचिव, प्रदेशका विभिन्न मन्त्रालयका सचिव, निजामति कर्मचारी, सुरक्षा निकाय प्रमुख, संघ-संस्थाका पदाधिकारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।


प्रभातफेरिपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले प्रदेश समृद्धिका लागि राजनीतिक स्थिरता हुनुपर्ने बताए । उनले राजनीतिक स्थिरतालेमात्र प्रदेशको आर्थिक समृद्धि सम्भव रहेको मुख्यमन्त्री शाहले बताए ।