कैलाली - सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले स्वास्थ्य केन्द्रका लागि करारमा कर्मचारी माग गरेको छ ।
आज एक सूचना जारी गर्दै मन्त्रालयले अस्पताल तथा आयुर्वेद स्वास्थ्य केन्द्रका लागि तीन तहका लागि १९ जना कर्मचारी करारमा माग गरेको हो ।
मन्त्रालयले मेडिकल अधिकृत ११, आयुर्वेद चिकित्सक छ, डेन्टल सर्जन र मेडिकल ल्याब टेक्नोलोजिष्ट एक/एक गरि १९ जना कर्मचारी करारमा माग गरेको जनाएको छ ।
मन्त्रालयले महाकाली अस्पतालका लागि चार, टीकापुर अस्पतालका लागि तीन, बाजुरा, बैतडी, डोटी र अछामका लागि एक/एक गरि ११ जना मेडिकल अधिकृत माग गरेको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डोटी, डडेल्धुरा, अछाम, बैतडी, बाजुरा र दार्चुलाका लागि आयुर्वेद चिकित्सक ६ जना माग गरिएको छ ।
टीकापुर अस्पतालका लागि एक डेन्टल सर्जन र मेडिकल ल्याब टेक्नोलोजिष्ट माग गरेको छ । ‘लोक सेवा आयोगद्वारा पदपूर्ति नहुन्जेलसम्म वा नेपाल सरकारद्वारा स्थायी कर्मचारी सरुवा पदपूर्ति नभएसम्म सेवा करारमा लिइने’ सूचनामा उल्लेख गरिएको छ ।
योग्य व्यक्तिले भदौ १४ गतेसम्म इमेलमार्फत दरखास्त दिन सक्ने सूचनामा भनिएको छ । २१ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिले आवेदन दिन सक्ने छन् ।