सुदूरपश्चिम - प्रदेशमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ।
साउन दोस्रो साताबाट कोरोना भाइरसको नयाँ लहर फैलिन सुरु भएकोमा पछिल्ला दिनहरूमा कोरोना संक्रमित हुनेको संख्या बढ्दै गएको छ। एक महिनाअघि दैनिक एकदुईजनामा कोरोना संक्रमण देखिने गरेकोमा केही दिनयता दिनहुँ १ सयभन्दा बढी नयाँ संक्रमित देखा पर्न थालेका प्रदेश स्वास्थ्य निर्देशनालयका हेमराज जोशीले बताए। सेती प्रादेशिक अस्पतालमा पनि कोभिड–१९ संक्रमित भर्ना हुने क्रम बढ्दै गएको छ।
अस्पतालका सूचना अधिकारी दिलिककुमार श्रेष्ठले तीन सातायता कोरोना संक्रमणका बिरामी अस्पतालमा आउने क्रम बढ्दै गएको बताए। प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा ४ सय ३४ सक्रिय संक्रमित रहेका छन्। कैलालीमा र कञ्चनपुरमा संक्रमित हुनेको संख्या बढिरहेको छ। कोरोनाको संक्रमण बढ्दै गए पनि जटिल प्रकृतिका लक्षण कम देखिएको चिकित्सक बताउँछन्।
सेती प्रादेशिक अस्पतालका कोरोना उपचार विभाग प्रमुख डा शेरबहादुर कमरले पछिल्ला दिनमा कोरोना संक्रमण बढ्दै गएको बताए। समुदायमा नयाँ लहरको संक्रमण फैलिरहेकाले भएकाले स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेमा उनले जोड दिए। बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीमा संक्रमणबाट बढी जोखिममा रहेको उनले बताए।
रुघाखोकी लाग्ने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने र जिउ दुख्नेलगायत लक्षण संक्रमितमा देखा परेको उनले बताए। कैयौंले खोप लगाएको र कोरोनाको संक्रमण समुदायमा फैलिँदा मानवमा प्रतिरोधात्मक क्षमता वृद्धि हुने भएकाले पहिलो र दोस्रो लहरको जस्तो यो लहरले क्षति नपुर्याउने उनी बताउँछन्।
बालबालिका, ज्येष्ठ नागारिक, दीर्घरोगी, खोप नलगाएकालाई भने जोखिम हुन सक्ने भएकाले सबैले कोरोनाबाट जोगिन सावधानी अपनाउनुपर्ने उनी बताउँछन्। नयाँ लहरबाट सुदूरपश्चिममा एकजनाको ज्यान गइसकेको छ। कञ्चनपुर भीमदत्त नगरपालिका–६ प्रगति टोलका ५० वर्षीय पुरुषको नयाँ लहरको कोरोना संक्रमण फैलिएपछि ज्यान गएको हो।
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार सुदूरपश्चिममा सुरुदेखि अहिलेसम्म ६१ हजार ३२ जनामा कोरोनाको संक्रमण देखा परिसकेको छ भने ६ सय ३४ जनाले ज्यान गुमाएका छन्। साभार नागरिक दैनिक