अत्तरीया- पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारू समुदायले परापूर्वकालदेखि चलीआएको ‘गुरही’ पर्व यहाँका थारू समुदायले सामूहिकरूपमा मनाइरहेका छन् ।
यो पर्व वर्षायाममा खेतीपातीको काम सम्पन्न भएसँगै धानबालीमा किरा नलागोस् भनेर गाउँका युवतीहरू गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने किराको प्रतीक) असराउने (सेलाउने) चलन रहेको छ । थारू कल्याणकारीसभाका कार्यवाहक सभापति माधव चौधरीले भने, “गुरही गाउँबाट पर गएर सेलाउँदा धानबालीमा किरा नलाग्ने र बाली हराभरा भई सप्रने जनविश्वाससमेत रहदैंआएको छ ।” गुरही (गाइने किराको प्रतीक) सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुनेजस्ता रोग निको हुने गरेको विश्वास रहेको उनले बताए । यो पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनुका साथै गाउँमा भएको दुःख, सङ्कट, विपत्ति भाग्ने गरेको बताएकोे छ ।
यो पर्व आज धनगढीको क्याम्सचोक, शान्तिनगर, उर्मा, भादागाउँ, बडहरालगायत थारू समुदाय बसोबास गर्ने विभिन्न जिल्लामा, कैलालीका विभिन्न समुदायमा सामूहिकरूपमा भव्यताका साथ मनाउने कार्यक्रम तय भएको धनगढीका थारू अगुवा प्रभात चौधरीले जनाउनु भयो, तेस्तै ‘गुरही’ पर्वका अवसरमा आज धनगढी उपमहानगरपालिका, कैलारी, जोशीपुर गाउँपालिका र भजनी नगरपालिकाले स्थानीय स्तरमा बिदा दिने निर्णय गरेका छन् । ती स्थानीय तहका सम्पूर्ण सरकारी कार्यालय तथा विद्यालयहरुमा सार्वजनिक बिदा दिन निर्णय समेते सूचनामा उल्लेख गरिएको छ ।