काठमाडौं- सरकारले असमान तलब वृद्धि गरेको भन्दै देशभरका करिब २० हजार राजपत्र अनंकित प्रथम श्रेणीका नायब सुब्बाहरू मंगलबार एक दिन विरोध बिदामा बस्ने भएका छन्।नायब सुब्बाहरूले आन्दोलनको कार्यक्रमअन्तर्गत बिदामा बस्ने निर्णय गरेका हुन्।
तलबमा गरिएको असमान वृद्धिको विरोध र संघीय निजामती सेवा ऐनको मस्यौदामा आफ्ना माग समेट्न माग गर्दै सोमबार अर्थ मन्त्रालयमा धर्ना दिएका उनीहरूले मंगलबार भने क्याबी बिदामा बस्ने निर्णय गरेको नेपाल निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले जानकारी दिए।
संघीय निजामती सेवा ऐनको मस्यौदा तयार भएको करिब अढाई वर्षदेखि नायब सुब्बाहरूले विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन्। १८ वर्षसम्म निरन्तर एउटै पदमा बसे पनि बढुवा नहुनु अन्यायपूर्ण स्थिति भएको भन्दै उनीहरूले विरोध प्रदर्शन गर्दै आएका थिए।
उनीहरुले उठाएको मागबारे सरकारको ध्यानाकर्षण गराउन प्रमुख ५ दलसँग निकट राष्ट्रिय स्तरका टे«ड युनियनका पदाधिकारीले सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका थिए।नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलका अनुसार युनियनका पदाधिकारीसँगको भेटपछि अर्थमन्त्री शर्माले नयाँ तलबमानको प्रस्ताव लागु नगर्ने प्रतिबद्धता जनाएका छन्।
नायब सुब्बाका लागि ३० प्रतिशत ज्येष्ठता, १० प्रतिशत आन्तरिक र १० प्रतिशत अन्तर सेवाको व्यवस्था हुनुपर्ने माग गरे पनि सरकारले आफूहरूको माग सुनुवाइ नगरेको कर्मचारीको गुनासो छ।