काठमान्डौ -भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का नेता कन्हैया कुमार आधिकारिकरुपमा कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार मंगलबार उनी आधिकारिकरुपमा कांग्रेसमा प्रवेश गरेका हुन् । उनीसँगै गुजरातका स्वतन्त्र विधायक जिग्नेश मेवाणी पनि कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस पार्टीमा प्रवेश गरेसँगै कन्हैया कुमारले भने, ‘म कांग्रेस पार्टीमा किन प्रवेश गरिरहेको छु भने मलाई यो देशमा केही सत्तामा रहेका मानिसले मुलुकको भविष्य बिगार्ने प्रयास गरिरहेका छन् भन्ने महसुस भएको छ ।’ कांग्रेसका केसी वेणुगोपाल र रणदीप सिंह सुरजेवालाको उपस्थितिमा कन्हैया कुमार र जिग्नेश मेवाणि कांग्रेस पार्टीमा प्रवेश गरेका हुन् ।
कन्हैया कुमार कम्युनिष्ट पार्टी अफ इन्डियाको राष्ट्रिय कार्यकारिणीमा बिहारका सदस्य थिए । सन् २०१९ को लोकसभामा उनी बेगूसरायबाट निर्वाचन लडेका थिए । तर, भाजपाका उम्मेदवारसँग ठूलो अन्तरले पराजित भएका थिए ।