अत्तरिया – डडेल्धुरामा अनसनरत डा गोविन्द केसीले अनसन स्थगीत गरेका छन । नौ दिनदेखि ७ बुदे माग राखेर सत्याग्रहमा रहेका डाक्टर गोविन्द केसीले मंगलबार विज्ञप्ती जारी गरी अनसन स्थगीत गरेका हुन ।
उनले अनसन स्थगीत गर्नुको मुख्य कारण भारतले निकालेको नयाँ नक्सा बनेको छ । डा. केसीले भारतले निकालेको नयाँ नक्सामा पश्चिमी क्षेत्रकै लिम्पियाधुरा सम्मको भु– भाग आफ्नो नक्सामा पारेर नयाँ नक्सा सार्वजनिक गरेपछि केसीले आफू स्तब्ध भएको बताउँदै अनशन तोडेका छन ।
उनले पेस विज्ञप्तीमा भारतले नेपालको सीमा मिचेको नक्सा सार्वजनीक गरेको प्रति आफू अरु नेपाली नागरिक जस्तै स्तब्ध भएको उल्लेख गरेका छन ।
विज्ञप्तीमा उनले राष्ट्रियता पहिलो शर्त भएको बताएका छन । ‘अहिले नेपालको पश्चिमी सीमा मिचिएको बिषयमा राजनीतिक शक्तिहरुवीच जुन अभुतपुर्व तदारुकता देखिएको छ, त्यो देखावटी मात्रै नभई कुटनीतिक माध्मबाट मिचिएको भूमि फिर्ता गर्नमा केन्द्रित होस भन्ने चाहन्छौ । विज्ञप्तीमा भनिएको छ ।
उनले विज्ञप्तीमा राष्ट्रियताको वाहानामा कर्तव्यच्युत हुने काम भने स्वकार्य नहुँने बताएका छन । ‘राज्यले गर्नैपर्ने बाँकी काम र जिम्मेवारीबाट उन्मुक्ति पाउने भन्ने किमार्थ हुँदैन ।’ विज्ञप्तीमा भनीएको छ – ‘चिकित्सा शिक्षामा भएको १० अर्वको ठगीका अभियुक्त लगायतलाई न्यायको कठगारामा ल्याउने जिम्मेवारीबाट सरकार कसै गरे पनि बच्न सक्दैन ।’
उनले राष्टियताको संवेदनशील बिषयमा देशभर जनस्तरबाट आवाज उठिरहदा उहाँहरुको संवेदनालाई हृदयगम गदै हाललाई सत्याग्रह स्थनग गर्ने निर्णय गरेको विज्ञप्ती मार्फत जनाएका छन ।
विज्ञप्तीमा उनले स्वास्थ्य र चिकित्सा शिक्षा सुधार तथा सुशासनका लागि लडाई जारी रहने भएकाले माग पुरा नभए पुन सत्याग्रह सहितका आन्दोलनका कार्यक्रम ल्याउने जनाएका छन ।
केसीले अनसन स्थगीत गर्दै भारतलाई खुला पत्र समेत लेखेका छन ।
यस्तो छ उनको खुला पत्र
श्री नरेन्द्र दामोदरदास मोदी,
प्रधानमन्त्री, भारत गणराज्य
कुशल छौं र यहाँको कुशलता चाहन्छौं ।
भारत र नेपालबीचको गहिरो र आत्मीय सम्बन्ध रातारात विकास भएको हैन । अनादिकालदेखि यी भुभागमा बसिआएका मानिसहरुबीचको अन्तरंग सम्बन्ध नै आधुनिक नेपाल र भारत निर्माण भएपछि दुई देशीय सम्बन्धका रुपमा विकास भएको हो। सन १८१६ को सुगौली सन्धिले आधुनिक नेपालको प्रारम्भिक नक्सा कोरेको थियो।
त्यसपछिको अवधिमा ब्रिटिश इण्डिया र स्वतन्त्र भारतसँग राज्यस्तरको सम्बन्धमा उतारचढाव आए पनि जनस्तरमा मैत्रीपूर्ण आर्थिक, सामाजिक र साँस्कृतिक सम्बन्ध कायम छ । धेरै नेपालीको जीविका भारतको रोजगारले धानेको छ भने भारतबाट रोजगारका लागि नेपाल आउने जनसंख्या पनि उल्लेख्य छ। नेपाल र भारत मात्रै नभई पाकिस्तान र बंगलादेशजस्ता अरु छिमेकी देशका पनि भुइँ तहका मानिसहरुका पीडा उस्तै छन। गरिबी, अशिक्षा र रोगजस्ता साझा समस्याबाट दक्षिण एसियाका सबै देशका नागरिकहरु जुधिरहेका छन। भ्रष्टाचार, कुशासन र असमानताको बढोत्तरी सबै देशका नागरिकहरुका साझा समस्या हुन।
सन २००१ को भुकम्पपछि मैले यहाँको गृहराज्य गुजरातको भुजमा घाइतेहरुको सेवा गर्ने मौका पाएको थिएँ। त्यस्तै सन २०१३ मा उत्तराखण्डमा भीषण बाढी आउँदा केदारनाथमा फसेका तीर्थयात्रीको सेवा गर्ने मौका पनि मैले पाएको थिएँ। त्यस क्रममा मेरो आफ्नै ज्यान मुस्किलले बचेको थियो । जुनसुकै देश र राष्ट्रियताका मानिस भए पनि उनीहरुको पीडा एकै किसिमको हुन्छ र मानवीय सेवा गर्दा मिल्ने सन्तुष्टि पनि एउटै हुन्छ भन्ने मैले महसुस गरेको छु।
अहिले म नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्र सुधारका लागि सत्याग्रही अभियानमा छु । तर यही बीच समाचार आएको छ कि भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको छ। यो समाचारले अरु नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु।
कूटनीति र भूराजनीतिका जटिल सिद्धान्त र अभ्यासबारे म जानकार छैन। तर सामान्य नागरिकको हैसियतले मैले जानेको यत्ति होः जुनसुकै देशका नागरिकको पनि मर्यादा र आत्मसम्मान समान हुन्छ।
नेपालमा भारतका अनेक सरोकार होलान। खास गरी राष्ट्रिय सुरक्षाको संवेदनशीलताका कारण नेपालमा भारतको गहिरो चासो छ भनिन्छ। तर नेपाल मजबुत र समृद्ध भए मात्रै भारतको राष्ट्रिय सुरक्षा सुनिश्चित हुन सक्छ।
अन्तमा, भारत र नेपाल मिलेर लड्नुपर्ने लडाइँ धेरै छन । विश्वका धेरै ठाउँमा उन्मुलन जस्तै भएका धेरै संक्रामक रोगहरुको ठूलो भार हामीकहाँ छ। अशिक्षित र निरक्षर मानिसहरुको ठूलो संख्या पनि यसै क्षेत्रमा छ। अपेक्षित गतिमा अर्थतन्त्र बिस्तार नहुँदा जीविकाको समस्या त झन् सबैभन्दा जटिल बन्दो छ। आज हजारौं माइल टाढा मरुभुमिमा जोखिमपूर्ण काममा न्युनतम ज्याला लिएर काम गरिरहेका कामदारमध्ये धेरै भारतीय र नेपाली छन।
त्यसैले यस्ता साझा समस्यासित भारत र नेपाल मात्रै नभई सबै दक्षिण एसियाली देशहरु मिलेर लड्नु जरुरी छ। त्यसका लागि नेपालसित हाल देखिएको सीमा समस्यालाई सरकारका विभिन्न स्तरमा हुने कुटनीतिक छलफलबाट समाधान गरी परस्पर विश्वास र मैत्रीको वातावरण कायम गर्न विशेष आग्रह गर्दछु।
डा गोविन्द केसी
डडेल्धुरा, नेपाल
डडेल्धुरा २०७६।७।२६