भजनी - गएको वर्ष कात्तिक महिनामा आएको बाढीले पाकेको धान खेती गुमाएका कैलालीका बाढी पीडित किसानलाई राहत वितरण थालिएको छ ।
गएको वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्ति स्वरूप राहत रकम पाइरहेका छन् । प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम भजनी नगरपालिकाले वितरण सुरु गरेको छ । तयारी धान बाली भित्र्याउने बेला गत वर्ष असोज ३१ देखि कात्तिक २ गतेसम्म आएको वर्षापछिको बाढीले पीडित बनेका किसानलाई क्षतिको आधारमा राहत रकम दिन सुरु भएको भजनी नगरपालिका कृषि शाखा प्रमुख कमल चौधरीले बताए ।
“भजनीमा १० हजार किसानको धान बाली नोक्सानी भएको छ । एक किसानलाई ५५ हजारभन्दा बढी नहुने गरी राहत रकम उपलब्ध गराइरहेको नगरपालिकाले जनाएको छ ।
किसानलाई क्षतिका आधारमा राहत दिन थालिएको छ”, चौधरीले भने, “क्षतिका आधारमा प्रदेश सरकारले राहत उपलब्ध गराएको छ । किसानलाई क्षतिको आधारमा १० कट्ठाभन्दा कम जमिन क्षति भएकालाई प्रतिकट्ठा ३१५, ११ देखि ६० कट्ठासम्म क्षति भएकालाई १२५, र ६० कट्ठाभन्दा माथि क्षति भएका किसानलाई रु ७५ प्रति कट्ठा रकम वितरण थालिएको छ ।”
नगरपालिकाले अहिलेसम्म १ करोड ४० लाख किसानको खातामा पठाइसकेको र असार २० गतेसम्म पीडित सूचीकृत सबै किसानको खातामा रकम पठाइसक्ने गरी काम गरिरहेको छ ।