काठमाडौं- दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा समूह ‘बी’ अन्तर्गतको खेलमा वागमती प्रदेशलाई २८ रनले हराउँदै सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा पुगेको छ।
सुदूरपश्चिमको जितमा कविता जोशीले ह्याट्रिकसहित पाँच विकेट लिइन्। उनले नवौँ ओभरमा मात्र चार विकेट लिएकी हुन्। ११ ओभरमा झारिएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले ४ विकेट गुमाएर ७६ रन बनाएको थियो। ७७ रनको लक्ष्य पछ्याएको वागमतीले ९ विकेट गुमाएर ४८ रन मात्र बनाउन सक्यो।
सुदूरपश्चिमसँगै समूह ‘बी’ बाट प्रदेश नम्बर १ सेमिफाइनलमा पुगेको छ। यसअघि नै समूह ‘ए’ बाट एपिएफ र लुम्बिनी प्रदेश सेमिफाइनलमा पुगिसकेका छन् ।
७७ रनको लक्ष्य पछ्याएको वागमतीका लागि बिन्दा कटवालले १० बलमा ७ रन, सुमन खतिवडाले २८ बलमा २७ रन बनाए। सुदूरपश्चिमका कविता जोशीले पाँच साथै कविता कुँवर, रितु कनौजिया र लक्ष्मी साउदले एक–एक विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लाग कविता कुँवरले ३० बलमा १९ रन, रेवती धामीले ४ बलमा २ रन, मञ्जु बोगटीले ७ बलमा ५ रन, कविता जोशीले १२ बलमा १२ रन र डोली भट्टले १४ बलमा २८ रन बनाएका थिए। वागमतीका लागि आरती भट्टले तीन साथै निशा तामाङले एक विकेट लिएका थिए।